काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धको मुद्दाको सुनुवाइ आज गर्ने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सो मुद्दाको सुनुवाई हुने गरी तोकिएको छ । सरकारले दल विभाजनका लागि सहज हुने गरी ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्ध सर्वोच्चमा ६ वटा रिट निवेदन दायर भएका थिए ।
अध्यादेशविरुद्ध अधिवक्ता प्रवेश केसी, अधिवक्ता अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल, दिनेशकुमार अर्याल र अनुपा अर्याल, सरोज बुढाथोकी र आशिष श्रेष्ठ, श्रीकान्त बराल र दलबहादुर धामीद्वारा पाँचवटा रिट परेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।
सर्वोच्चले शुक्रबार यसविरुद्ध परेका रिटको पेशी संवैधानिक इजलासमा तोकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताउनुभयो । उक्त रिटको सुनुवाइ शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा हुने भएको छ ।
रिटमा संविधानको धारा ११४ को उपधार १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न आदेश माग गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २ मा मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको थियो । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्याका आधारमा दल विभाजन गर्न सक्ने व्यवस्था गरिएको छ ।