विराटनगर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने दाबी गर्नुभयो ।
मन्त्री कार्कीले यही असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारै छलफल भएको बताउनुभयो । उहाँले मुलुकमा दिगो शान्ति र समृद्धिका निम्ति सहमति र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
एक फरक प्रसंगमा उठाइएको प्रश्नको जवाफमा एमसीसी विकास परियोजना भएकाले यसलाई राजनीतिकरण गर्नुहुँदैन भन्दै मन्त्री कार्कीले नेपालको इतिहासमा पहिलो पटक आएको ठूलो अनुदान फर्केर जान सक्ने भएकाले त्यसबाट पर्न सक्ने असरबारे बुझ्नुपर्नेमा जोड दिनुभयो ।