विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपनेता सुवास नेम्वाङले बजेट होलिडे देउवा सरकारले निम्त्याएको संकट भएको बताउनुभएको छ । उहाँले सरकारकै कारण अहिले देशले बजेट होलिडेको अवस्थाबाट गुज्रिनुपरेको बताउनुभयो । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
यसअघि एमाले विभाजनका लागि हतार-हतार अधिवेशन अन्त्य गरेको बताउँदै उहाँले समयमा नै बजेट पास गर्न सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो । पूर्वसभामुख समेत रहेका एमाले उपनेता नेम्वाले सभामुखको भूमिका पनि विभेदकारी भएका कारण आफूहरुले विरोध गरेको जनाउनुभयो ।
‘प्रतिपक्ष सदन अवरुद्धमा उत्रेको छ, सदन अवरुद्ध गर्ने यतिका दिनसम्म कामकारवाही पश्चात किन सत्ता पक्ष पटक्कै यसबारेमा ध्यान पुर्याइरहेको छैन, छलफल गरेको छैन, यस्तो बेलामा सभामुखले दिनमा १५ पटक छलफल राख्नुपर्छ,’ उहाँले भन्नुभयो,‘ सभामुख हाम्रो नेता हो, संसदमा रहेका सम्पूर्ण दलको नेताजस्तो व्यवहार गुर्नपर्छ, उहाँको व्यवहार त्यस्तो भएन कि भन्ने प्रश्न मनमा उब्जिएको छ ।’
नेकपा एमाले विभाजनका लागि यसअघि आह्वान गरेको संसद हतार-हतार स्थगित गरेको उल्लेख गर्दै उहाँले सभामुखको भूमिका पनि निष्पक्ष नभएको बताउनुभयो ।
साउन ३२ देखि भदौ २३ गतेसम्म एमाले विभाजनका लागि सदन स्थगित गरेको बताउँदै उहाँले बजेट खर्च गर्न नसक्ने अवस्था सृजना गर्न सरकार जिम्मेवार रहेको बताउनुभयो ।