झापा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पार्टीका लागि एउटा टनटन गर्ने पिलो भएको र उनी निचोरिएको टिप्पणी गर्नुभएको छ । आज झापाको बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ताको भेलालाई संवोधन गर्नुहुँदै ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।
अध्यक्ष ओलीले माधव नेपालजस्तो टनटन गर्ने पिलो निचोरिँदैमा पार्टीको ओजन नघट्ने बताउनुहुँदै पार्टीमा टनटन गरिरहेको पिलो फुत्त निस्किएर पार्टीलाई केही लछारपाटो नलाग्ने बताउनुभयो । उहाँले माधव नेपालको पार्टी नक्कली भएको बताउनुहुँदै नचल्ने बताउनुभयो ।
अगुवा कार्यकर्ता भेलालाई संवोधन गर्नुहुँदै ओलीले माधव नेपालले पार्टी बनाउनभन्दा पनि एमालेलाई कमजोर बनाउन मात्र तमासा गरेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘उहाँले पार्टी बनाउन सक्नुहुन्न । उहाँले एमाले कमजोर बनाउन तमासा ग-या मात्र हो, पार्टी फुटाउन खोज्नेले कहीँ पार्टी बनाउँछ ।’ उहाँले थप्नुभयो, ‘यत्रो पार्टी बनेपछि फुटाउनेले के पार्टी बनाउँछ ?’
ओलीले माधव नेपालले एमालेबाट फाइदा लिनुसम्म लिएर अहिले बाहिरिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘कहिले पार्टी अध्यक्ष बनेर खाए, कहिले प्रधानमन्त्री भएर खाए, कहिले विपक्षी दलको नेता भएर खाए, कहिले आफ्नै पार्टीको सरकार ढालेर खाए ।’
माधव नेपाल कुनै समय कम्युनिष्ट आन्दोलनमा जोडिएको बताउँदै ओलीले एमालेसँग माधवको रसायन कमजोर रहेको बताउनुभयो । ‘ माधव नेपाल यस आन्दोलनमा जुटेका थिए फेरि रसातलमा पु-याए । माधव नेपाल जोडिने रसायन पुगेकै रहेनछ । पक्लक्क फुक्लियो ।’ उहाँले अझै पनि नेकपा एमाले एकजुट रहेको बताउँनुहुँदै आगामी निर्वाचनमा मज्जाले जितिने बताउनुभयो ।
माधव नेपाल जसरी पनि पार्टी फुटाउनुपर्ने खेतीमा लागेको बताउनुहुँदै ओलीले पार्टी फुटाउन नसकेपछि चोइटिएर गएको बताउनुभयो ।