झापा । प्रदेश नं १ का नेकपा एमाले नेता हिक्मत कार्कीले बहुमत जुटाएर प्रदेश १ सरकार चलाउने दाबी गर्नुभएको छ । एमाले विभाजन भएर १० जनाले नेकपा एकीकृत समाजवादी रोजे पनि अन्य दलका सांसदहरुले समर्थन प्राप्त गरेर सरकार चलाउने दाबी उहाँले गर्नुभयो ।
एसका नेताहरुले सोमबार मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन नरहेको बताए पनि सरकार जोगाउने दाबी उहाँले गर्नुभएको छ ।
एसले मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारलाई समर्थन नदिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । प्रदेशसभा सदस्यसमेत रहेका एमाले नेता कार्कीले भने असोज तेस्रो साता प्रदेशसभाको अधिवेशन आह्वान हुने बताउनुभयो । उहाँले अघि भन्नुभयो, ‘प्रदेश सरकार जोगाउन हामी लागेका छौं, सामान्य बहुमत पुर्याएर सरकार जोगाउनेछौं ।’