पोखरा । झण्डै दुई महिनादेखि स्थगित गण्डकी प्रदेशसभाको बैठक आज बस्ने भएको छ । गत असार ३० गते मार्शल लगाएर बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि भन्दै स्थगित भएको गण्डकी प्रदेश सभा बैठक आज बस्ने भएको हो । बजेटप्रति असहमति जनाउँदै हालै सरकारबाट बाहिरिएको प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका बीच बजेट पारित भए पनि फेरि बैठक बस्न सकेको थिएन ।
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएको बजेटका क्रमागत योजना काटिएको, अघिल्लो सरकारका महत्वपूर्ण योजनालाई कम प्राथमिकतामा नराखिएको लगायतको विमति राख्दै त्यो नसच्याएसम्म फेरि बैठक चल्न नदिने एमालेले अडान लिँदै आएको थियो । बजेट नसच्याए बैठक चल्न नदिने एमालेको अडानले चार दलको गठबन्धन सरकारले बैठक बोलाउन सकेको थिएन ।
काटिएको योजनाको स्रोत सुनिश्चित गरेर अगाडि बढाउने, अघिल्लो सरकारका प्राथमिक र दीर्घकालीन योजनालाई निरन्तरता दिनेलगायतका दुई दलबीच सहमति भएपछि आज बैठक बस्न लागेको हो । जेठ २९ गते नियुक्त भएका गठबन्धनका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले असार १ गते अर्थमन्त्रीको समेत जिम्मेवारीबाट ३० अर्बभन्दा केही बढीको बजेट ल्याएको थियो ।