काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको सर्वदलीय बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीबाट माधव नेपाल, जसपाबाट उपेन्द्र यादव, लोसपाबाट महन्त ठाकुर, नेमकिपाबाट प्रेम सुवाल, जनमोर्चाबाट दुर्गा पौडेल, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी छन् । राप्रपा सांसद राजेन्द्र लिङ्देन भने उपत्यकाबाहिर रहेकाले उपस्थित हुन नसक्ने जानकारी सभामुखलाई गराइएको छ ।
सभामुखले गलत नियतले नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाही नगरेपछि निरन्तर संसद बैठक अवरोध गरेपछि निकास खोज्न सर्वदलीय बैठक बोलाइएको हो ।
यसैबीच प्रमुख विपक्षी दल नेकपा एमालेले आफू र सभामुखबीचको समस्यामा सर्वदलीय बैठक बोलाएको भन्दै असन्तुष्टि जनाएको छ । साथै उक्त बैठकमा एमाले सहभागी नहुने बताएको छ ।
यसअघि एमालेले सभामुखलाई आफूले कारबाही गरेका १४ सांसद्लाई कारबाही गरेको सूचना टाँस्ने या सभामुख पदबाट राजीनामा दिने दुई विकल्प प्रस्तुत गरिसकेको छ ।