काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठक डाकेको छ ।
बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा डाकिएको हो । विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको पौडेल निकट स्रोतले जानकारी दिएको छ ।
‘आजको बैठक महाधिवेशन निष्पक्ष होस् भनेर खबरदारीका लागि पनि हो,’ पौडेल निकट स्रोतले बताएको छ ।
कांग्रेस नेताहरुका अनुसार २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यतासम्बन्धी विवाद कायमै रहेको छ । विवादका कारण भदौ १८ मा गर्ने भनिएको वडा अधिवेशन असोजसम्म लम्बिएको छ ।
यसअघि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा विवादकै बीच प्रहरी, प्रशासन लगाएर वडा अधिवेशन गरिएको भन्दै पौडेल पक्षले कडा विरोध जनाएको थियो । सभापति देउवा निरंकुश बनेको भन्दै आसन्न महाधिवेशन निष्पक्ष हुनेमा शंका गरेको पौडेल पक्षले देउवालाई भेटेरै प्रहरी र प्रशासनको दुरुपयोग नगर्न ध्यानाकर्षणसमेत गराइसकेको छ ।