काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुख अग्नि सापकोटालाई अरु पार्टीले सांसदलाई कारबाही गर्नेबित्तिकै सूचना जारी हुने तर एमालेले कारबाही गरेको सूचना किन जारी भएन भनी प्रश्न गर्नुभएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उहाँले एमाले शान्त भएपछि सबै चीज ठीक हुने बताउनुभयो । उहाँले भन्नुभयो- ‘जसपाको हकमा, नेकपा माओवादी केन्द्रको हकमा सांसदहरुलाई कारबाही गरिएको सूचना दिनासाथ सभामुखबाट कारबाहीको सूचना जारी भयो तर, हाम्रो हकमा किन भएन रु प्रश्न यो हो ।’ उहाँले अघि थप्नुभयो, ‘हामी (एमाले) लाई शान्त गर्नासाथ सबै चीज ठीकठाक हुन्छ ।’
उहाँले प्रतिनिधिसभामा जारी गतिरोध अन्त्यका लागि सभामुख र सत्तारुढ दलहरुले पहल गर्नुपर्ने तर त्यसो नगरेकोमा असन्तुष्टि जनाउनुभयो ।
नेता नेम्वाङले एमालेले १४ जना सांसदलाई कारबाही गरेर पठाएको पत्रअनुसार सभामुखले सूचना टाँस गरेपछि शान्त हुने बताउनुभयो । ‘हामीले जुन उजुरी दिएका छौं त्यो उजुरी अनुसार उहाँ (सभामुख) ले सूचना टाँसिदिए हुन्छ । त्यो सूचना टाँसेपछि एउटा आधार बन्छ कि भन्ने लाग्छ’ उहाँले भन्नुभयो ।
नयाँ दल दर्ता भइसकेको अवस्थामा एमालेको पुरानो पत्रको आधारमा सभामुखले कारबाहीमा परेको सूचना टाँस्न मिल्छ भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले मिल्ने जवाफ बताउनुभयो ।
‘सूचना टाँस्न चाहिँ मिल्छ । कस्तो कस्तो अचम्मको काम त भइरहेको छ देशमा । यो त कानुन बमोजिमको काम हो । अब गर्ने नगर्ने उहाँ (सभामुख) को कुरा हो’ उहाँले भन्नुभयो ।
तर, एमालेले कारबाही गरेका १४ सांसद दल विभाजन अध्यादेशअनुसार गठन भएको नेकपा एकीकृत समाजवादीमा आबद्ध भइसकेका छन् । नयाँ दलले निर्वाचन आयोगबाट आधिकारिकता पाएर संसदमा सत्तापक्षको लहरमा बस्दै आएको छ ।
पार्टी विभाजित नहुँदै भदौ १ गते नेकपा एमालेले १४ सांसदलाई निष्कासनको कारबाही गरेको सूचना संसद सचिवालयमा दिएको थियो । उक्त सूचनालाई सभामुख अग्निप्रसाद सापकोटाले गैरजिम्मेवार ढंगले मान्यता नदिएर पार्टी फुटाउन सहयोगी गरेको एमालेको आरोप छ ।