काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले देउवा सरकारले दूषित मानसायबाट ल्याएको बजेट प्रतिस्थापन विधेयकको सशक्त प्रतिरोध गर्नुपर्ने बताउनुभएको छ । आइतबार नेकपा एमाले संसदीय दलको बैठकमा पौडेलले यस्तो बताउनुभएको हो ।
उहाँले अघिल्लो सरकारले ल्याएको बजेटका महत्वपूर्ण आयोजना कटौती गरिएको भन्दै आपत्ति प्रकट गर्नुभयो । बजेट प्रतिस्थापन विधेयक ल्याई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १४ सयवटा सडक आयोजनाको बजेट कटौतीकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । नेता पौडेलले बजेट कटौती गरिएका अधिकांश सडक तराई मधेसका रहेको बताउनुभयो ।
सरकार अघिल्लो सरकारले ल्याएको बजेट स्वीकार गर्न नसक्ने र अस्वीकार पनि गर्न नसक्ने दुविधाग्रस्त मनस्थितिमा देखिएको उहाँको भनाइ थियो । ‘सरकारले वित्तीय अनुशासन पनि उल्लंघन गरेको छ, कुनै सिस्टम फलो नगरी काम गरिएको छ, सम्बन्धित विभाग वा मन्त्रालयबाट माग पनि नभएको आयोजनामा बजेट हालिएको छ’ उहाँले भन्नुभयो ।
पूर्वअर्थमन्त्री पौडेलले सरकारले बजेटको आधार सामान्य घटाएर अघिल्लो सरकारले ठूलो आकारको बजेट ल्याएको देखाउन खोजेको पनि आरोप लगाउनुभयो । ‘साधारण खर्चमा १० प्रतिशत कटौतीको स्वागत गर्न सकिन्छ, तर मनसाय दूषित छ’ उहाँको भनाइ थियो ।