काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ । संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा मध्यान्ह १२ बजे दलको बैठक बस्ने पार्टी सचिव समेत रहेका सांसद योगेश भट्टराईले जानकारी दिनुभयो ।
सभामुख र सरकारको भूमिकालाई लिएर एमालेले संसदमा नाराबाजी गरिरहेको छ । नाराबाजीकै बीच सभामुखले यसअघिको बैठक अगाडि बढाउनुभएको थियो । सभामुखले जबर्जस्ती संसद अगाडि बढाएकाले यसअघिको बैठकमा भाँडभैलो मच्चिएको थियो ।
सङ्घीय संसद्को दुवै सदनको बैठक आज अपराह्न १ः०० बजे बस्ने भएकाले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयका छलफल हुने बताइएको छ ।
सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच संसद्मा पेलेरै जाने रणनीति अङ्गीकार गरेपछि सो विषयमा धारणा बनाउन संसदीय दलको बैठक बस्न लागेको हो ।
शुक्रवार एमालेको विरोधका बीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर पछिल्लो समय एमालेले संसद् अवरुद्ध गर्दै आइरहेको छ ।