काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देउवा सरकारले अन्य दलहरुसँग सरसल्लाह नगरी हठात् र छापामार शैलीमा नयाँ बजेट ल्याएकोमा आपत्ति जनाएको छ । एमालेले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएको भन्दै आपत्ति जनाएको हो ।
अघिल्लो सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को लोकप्रिय कार्यक्रम कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको उसको आरोप छ ।
एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले पार्टी विभाजनमा सभामुखको भूमिकालाई लिएर आफूहरुले विरोध गरिरहेका बेला सरकारले प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट ल्याउनु बलमिच्याइँ भएको ठहरसमेत गरेको छ ।
‘पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको छ,’ एमाले सचिव योगेश भट्टराईले बताउनुभयो ।
अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय र सडकलगायतका विकास निर्माणका आयोजनालाई कटौती गरेको र हचुवाका भरमा आयोजना थपेको भन्दै एमाले सचिव भट्टराईले भन्नुभयो, ‘यसप्रति हाम्रो आपत्ति छ ।’
त्यसैगरी आजको एमाले बैठकले विधान महाधिवेशन दुई साता पछि सारेको छ । बैठकले असोज ४–६ का लागि तय भएको विधान महाधिवेशनलाई १५–१७ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
विधान सम्मेलनमा प्रस्तुत गर्ने, विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनबारे छलफल गर्न भदौ ३ र ४ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने सचिव भट्टराईले जानकारी दिनुभयो ।
स्थायी कमिटीको बैठकले विधान महाधिवेशनमा कोको सहभागी हुने भन्ने पनि टुंगो लगाएको छ, जसअनुसार करिव ३ हजार सहभागी हुने एमालेले जनाएको छ ।