काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले एमालेप्रति गरेको व्यवहार निष्पक्ष नभएको बताउनुभएको छ । उहाँले समामुखले आफूहरुसँग संवाद नै गर्न नचाहेको आरोप लगाउनुभयो ।
शनिबार पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उहाँले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर निकास दिनुपर्ने बताउनुभयो ।
पार्टी विभाजनअघि नै एमालेले आफ्ना १४ जना सांसदलाई निष्कासनको कारबाही गरेको थियो । तर सभामुख सापकोटाले उक्त कारबाहीलाई मान्यता नदिएपछि नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । नेता भट्टराईले सभामुखले एमालेको कुरा सुन्नै नचाहेकाले समस्या भएको बताउनुभयो ।
“सभामुख संवादमा आउनै चाहनुभएन, उहाँले हाम्रो संसदीय दलको नेतासँग कुरा गर्नुपर्यो’ उहाँले भन्नुभयो, ‘…एमालेको टिप्पणी सुन्नुपर्छ र उचित हल दिने जिम्मा सभामुखको हो ।’ संसदमा सभामुख सत्तापक्ष र प्रतिपक्षको बीचको भूमिका रहनुपर्ने जिकिर गर्नुभयो ।