काठमाडौँ । नेपाल भ्रमणमा रहेकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमार सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ सुमारसहितको टोलीले प्रधानमन्त्री देउवालाई भेटेको हो ।
अमेरिकी आर्थिक सहयोग परियोजना समेटिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा विचाराधीन छ । एमसीसीबारे राजनीतिक दलहरुबीच सहमति कायम गराउन फातिमासहितको टोली बिहीबार नेपाल भ्रमणमा आएको हो ।
यसअघि एमसीसी प्रतिनिधिमण्डलले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेट गरेको थियो ।
यस्तै शुक्रबार भने एमसीसीको प्रतिनिधि मण्डलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेको थियो ।
नेपालमा रहेका राजनीतिक दलहरुमा एमसीसी यथास्थितिमा पास गर्न नहुने आवाज चर्को रुपमा उठिरहेका बेला एमसीसी प्रतिनिधिमण्डलले भेटवार्तालाई तीव्रता दिएको छ ।