काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले जबर्जस्ती संसद अगाडि बढाएर जंगली पारा देखाएको आरोप लगाउनुभयो ।
उहाँले प्रमुख प्रतिपक्षी दललाई साथमा लिएर विधेयक अघि बढाउनुपर्नेमा सभामुखसमेत दलको निर्देशनमा चलेको आरोप लगाउनुभयो । “सभामुख पनि चोर बाटोबाट अघि बढे,” उहाँले भन्नुभयो- “सभामुखले जंगली पारा देखाए। यो जनयुद्ध होइन । संसदमा यो खालको जंगली व्यवहार हामीलाई स्वीकार्य छैन।”
आजको बैठकमा अर्थमन्त्री जनार्जन शर्माल जबर्जस्ती संशोधित अर्थ विधेयक संसद्मा प्रस्तुत गर्न खोजेपछि त्यसलाई रोक्न सांसद चौधरी रोष्ट्रमतर्फ अगाडि बढ्नुभयो । उहाँले भन्नुभयो- ममाथि गएको भए अर्थमन्त्रीले बाचन गरेको प्रतिस्थापन विधेयकको फाइल खोस्ने थिएँ।
उहाँले सभामुख सापकोटाले जनयुद्धको शैली अपनाएको पनि आरोप लगाउनुभयो । “सभामुखले १० वर्षे जनयुद्धको गुरिल्ला शैली अपनाए ।”
यसअघि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि उहाँले गृहमन्त्री बालकृष्ण खाँणलाई रोक्ने प्रयास गर्नुभएको थियो ।
शुक्रबार पनि उहाँलाई संसदका मर्यादापालकले रोष्ट्रमतर्फ जानबाट रोकेका थिए ।
उहाँले भन्नुभयो- अर्थमन्त्रीबाट प्रतिस्थापन विधेयक खोस्न जाने प्रयासमा थिएँ, सांसदहरुले विरोध जनाउँदा पनि सभामुखले बैठक अगाडि बढाए । कार्यव्यवस्था परामर्श समितिमा छलफल नगरी सभामुख छापामार शैलीमा अघि बढे ।