काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध कायमै राखेेको छ । एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा (संसद) को बैठक अघि बढाउनुभएको छ ।
शुक्रबारको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण स्थगित भयो । दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुखले संसदको कारबाही अगाडि बढाउनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिनुभयो ।
सांसद प्रेम सुवालले भने प्रतिपक्षको नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताउनुभयो । लगत्तै सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिनुभयो । नाराबाजी गरिरहेका एमाले सांसदहरुले अर्थमन्त्रीको बाटो छेक्न खोजेका थिए । तर अर्थमन्त्री शर्मा दौडिएर रोष्टममा पुगेर प्रमुख प्रतिपक्षीको नाराबाजीका बीच अध्यादेश पेश गर्नुभएको छ ।