काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । एमालेका सांसदहरुले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका हुन् । एमालेका सांसदहरुको नाराबाजीसँगै बैठक १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु भएको छ ।
आज दिउँसो १ बजे सभामुख अग्नि सापकोटाले ‘आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भनेलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठकमा नाराबाजी गरेको हो । सभामुख सापकोटाले बैठकको कारबाही सुरु भएको जानकारी दिनेबित्तिकै एमालेका सांसदहरु उठेर रोस्टम घेर्न पुगेका थिए ।
यसअघि बुधबारदेखि सुरु भएको संसद्को १३औँ अधिवेशनको बैठकमा एमालेको अवरोधकै बीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश गरेको थियो ।
उक्त दिन एमालेले दोस्रो पटक पनि बैठक अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकाटाले अध्यादेश विधेयक टेबल गर्न गृहमन्त्री बालकृष्ण खाँडलाई समय दिनुभएको थियो । एमालेका सांसदहरुको नाराबाजी र घेरा तोडी रोस्टममा पुगेर गृहमन्त्री खाँडले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संशोधन) पेस गर्नुभएको थियो ।