काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दललाई मन्त्री बन्ने नेताको नामावली चाँडो उपलब्ध गराउन निर्देशन दिनुभएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री देउवाले आफू छिटोभन्दा छिटो मन्त्रिपरिषदलाई पूर्णता दिने विचारमा रहेको भन्दै
चाँडो मन्त्रीको टुंगो लगाउन आग्रह गर्नुभयो ।
सो बैठकमा सहभागी एक नेताका अनुसार त्यस क्रममा प्रधानमन्त्री देउवाले आफूहरूलाई चाँडो मन्त्रीको सूची दिन आग्रह गर्नुभएको हो । उहाँका अनुसार बैठकमा देउवाले भन्नुभयो, ‘एकदमै ढिलो भइसकेको छ, पार्टीमा सल्लाह गरेर मन्त्रीहरूको नाम चाँडो टुंगो लगाउनुस् ।’
सो बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेलको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँको मन्त्रिमण्डलमा अहिले ४ मन्त्री र एकजना राज्यमन्त्री मात्र छन् । सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै देउवाको सर्वत्र आलोचना भइरहेको छ ।
गठबन्धनका दलबीच पटकपटक छलफल भए पनि अहिलेसम्म टुंगोमा पुग्न सकेका छैनन् । हिजो बिहीबार पनि एकै दिन उनीहरूबीच तीनपटक बैठक भए पनि निष्कर्ष भने निस्किएको छैन ।