काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना एमसिसीलाई अगाडि बढाउन सकिने बताउनुभएको छ ।
एमसिसीका सम्बन्धमा अनेकन खालका विवाद र द्विविधा रहेको उल्लेख गर्दै उहाँले केही विषयमा संशोधन हुनुपर्छ भन्ने आफूहरुको मत रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालसँग शिष्टाचार भेटका लागि एमसिसीका उपाध्यक्ष फतिमा सुमार आज बिहान उहाँको निवास खुमलटार जानुभएको थियो ।
अध्यक्ष दाहालले नेपालका सबै राजनीतिक दलबीच साझा सहमतिका आधारमा मात्रै आयोजना अगाडि बढाउन सकिनेमा आफूहरु स्पष्ट रहेको बताएका उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।
“नेपालका राजनीतिक दलबीचको सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउनुपर्छ भन्नेमा हामी एकमत छौँ”, अध्यक्ष दाहालले बताउनुभयो । आफूहरुको पाँचदलीय गठबन्धनको बीचमा पनि साझा धारणा बनाएर मात्रै यसलाई अगाडि बढाउने पक्षमा रहेको उहाँको भनाइ थियो । सो अवसरमा उपाध्यक्ष फतिमाले नेपालका राजनीतिक दलबीचमा अन्तरक्रिया गर्न आफू नेपाल आएको बताउनुभएको थियो ।
उहाँले नेपालका राजनीतिक दलका बीचमा साझा सहमतिका आधारमा आयोजना अगाडि बढोस् भन्ने आफूहरुको चाहना रहेको उल्लेख गर्नुभयो । आयोजनाको उपादेयताका बारेमा जानकारी दिँदै उपाध्यक्ष फतिमाले पारदर्शीपूर्ण छलफलका आधारमा मात्रै अगाडि बढ्न सजिलो हुने बताउनुभएको थियो । उहाँले आफूहरु कुनै पनि दबाब दिने उद्देश्यले नआएकाले यसलाई नियमित भ्रमण भएको बताउनुभयो ।
सो अवसरमा उपाध्यक्ष फतिमाले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यलाभको समेत कामना गर्नुभयो । बिहीबार नेपाल आएकी उपाध्यक्ष फतिमाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो । एमसिसीका बारेमा परस्पर विरोधी मत रहेका बेला आयोजनाका बारेमा जानकारी लिने उद्देश्यका साथ फतिमा नेपाल आउनुभएको हो ।