डडेलधुरा । डडेलधुरामा विवादकै बीच नेपाली कांग्रेसको वडा अधिवेशन सुरु गरिएको छ । विवादका कारण स्थगित भएको डडेलधुराका स्थानीय तहको नेपाली कांगेसको वडा अधिवेशन विवादकै बीच सुरु गरिएको हो ।
आज बिहानदेखि जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले वडा अधिवेशनको प्रक्रिया सुरु गर्नुभएको हो । उहाँका अनुसार क्रियाशील सदस्यहरुले उत्साहका साथ अधिवेशनमा सहभागिता जनाइरहेका छन् । डडेलधुरामा पनि कुन वडामा निर्वाचन सुरु भयो कुनमा बाँकी छ भन्ने खबर भने अहिले नै भन्न सकिने अवस्था छैन । यससम्बन्धि मध्याह्नपछि मात्रै थाहा हुने बताइएको छ ।
तर, जिल्लाका सभापति कर्ण मल्लले भने निर्वाचन सम्बन्धि आफूहरुको कुनै पनि सहमति नभएको उल्लेख गर्नुभएको छ । उहाँले जिल्लामा राजतन्त्रको शासन सुरु भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्रको शासन लगाएको आरोप लगाउनुभयो । “हाम्रा प्रधानमन्त्री श्रद्धेय सभापति शेरबहादुर देउवाबाट ज्ञानेन्द्र शासन सुरु भयो, प्रहरी लगाएर पार्टीको महाधिवेशन गराउने प्रयत्न हुँदैछ, हामी त्यसमा सहभागी छैनौँ ।”
मल्लले अहिलेसम्म निर्वाचन सम्बन्धि कुनै सूचना नै नगरिएको र विनासूचना वडा अधिवेशन कसरी सम्पन्न हुँदोरहेछ हेर्ने बताएका छन् । यस्तो कार्यशैलीले सभापति देउवा आफैँ जिल्लाको गुटगत राजनीतिमा आएको स्प्रष्ट भएको उनको बुझाई छ । जिल्ला कार्यसमितिले यही भदौ २२ गते नै फर्जी क्रियाशील सदस्यबाट अधिवेशन सम्भव नहुने भन्दै जिल्ला अधिवेशन स्थगित गरेको थियो ।