काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा प्रदर्शनमा उत्रिएका नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका छन् ।
एमसीसी उपाध्यक्ष फतिमा सुमार तथा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सको नेपाल आगमनको विरोधमा कोटेश्वरमा निकालेको जुलुसबाट ३५ जनाभन्दा धेरै पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा प्रदेश नं ३ का सचिव सुरेश श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (क्रान्तिकारी)का अध्यक्ष ईश्वर तिमल्सिना, महासचिव वसन्त बोगटी, क्रान्तिकारी युवा लिगका अध्यक्ष आकाश महर्जनलगायत रहेका छन् । पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गर्नुभएको छ । ‘हाम्रो पार्टी एमसीसी जस्तो घोर राष्ट्रघाती सम्झौताको खारेजी र एमसीसीलाई लागू गराउन नेपाल आउने अमेरिकी साम्राज्यवादका भरौटेको विरोधमा आयोजित जुलुसमाथि गरिएको दमन र गिरफ्तारीको घोर निन्दा तथा तीव्र भत्र्सना गर्दछ’ महासचिव वैद्यले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।




















