काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न एमसीसीका प्रतिनिधिहरु बालकोट पुगेका थिए । भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसीका बारेमा एमालेको धारणा बुझ्न खोज्नुभएको थियो । एमसीसी अनुदानका बिषय भएकाले यसमा विवाद नहुनुपर्ने सुमारको भनाई थियो । भेटपछि एमसीसी उपाध्यक्ष सुमारले संक्षिप्त प्रतिक्रिया दिँदै नेपालमा आउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।
त्यस्तै एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसीका प्रतिनिधिले एमालेको पोजिसनका बारेमा जानकारी लिएको बताउनुभयो । ओलीले भेटघाटका लागि धन्यवाद दिदै एमसीसी सम्झौताका बारेमा आफ्नो नेतृत्वको सरकारले अघि बढाएपनि अहिले प्रतिपक्षिमा रहेको बताउनुभएको भट्टराईले जानकारी दिनुभयो । उहाँले आफूहरु सरकारमा रहँदा सभामुखसहितका केही व्यक्तिले एमसीसीलाई अघि बढ्न नदिएको बताउँदै अहिले सरकारले एमालेसँग यसबारे कुनै परामर्श नगरेको भनाई राखिएको बताउनुभयो ।

एमसीसीबारे एमालेले हतारिएर पोजिसन नबनाउने जानकारी दिँदै अध्यक्ष ओलीले पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्ने बताउनु भएको छ । एमाले विदेश विभाग प्रमुख डा. भट्टराईले भन्नु भएको छ ‘हिजो हामी सरकार हुँदा एमसीसी पास गर्न प्रयास गरेको कुरा तपाईंहरुलाई थाहै छ। अहिले एमसीसी जसका कारण रोकिएको हो, पहिले उनीहरुले पोजिसन क्लियर गर्नुपर्छ।’
‘सत्तारुढ दलहरुकै कारण एमसीसी रोकिएको हो । उनीहरु नै अहिले अलमलमा छन् । उनीहरुले अझैसम्म एमसीसी के गर्ने भन्ने बोलेका छैनन्,’ ओलीले बैठकमा भन्नुभयो ‘सरकार र त्यसमा संलग्न दलहरुले के गर्ने भन्ने पोजिसन बनाएकै छैनन् । उनीहरु पहिले यसबारे निर्णयमा नपुगी हामी प्रतिपक्षले हतार गर्ने अवस्थामा छैनौँ ।’
बिहीबार नै नेपाल आएको एमसीसी प्रतिनिधि मण्डलले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगाइतका नेतासंग भेट गर्ने कार्यक्रम छ ।
त्यस्तै शुक्रबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट हुने बताइएको छ । नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन् ।




















