काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अहिलेकै अवस्थामा संसदबाट पास हुन नदिने अडान लिएको छ ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवम् संघीय संसदमा प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसीबारे अमेरिकाले चित्तबुझ्दो जवाफ नदिएकाले यही अवस्थामा स्वीकार गर्न नसकिने बताउनुभयो ।
नेपाल सरकारले एमसीसीबारे सोधेको ११ बुँदे प्रश्नको जवाफ अमेरिकाले बुधबार पठाएको थियो ।
अमेरिकाले एमसीसी विशुद्ध आर्थिक सहयोग कार्यक्रम रहेको जनाउँदै यससँग इन्डो प्यासिफिक सैन्य रणनीतिको कुनै सम्बन्ध नरहेको उल्लेख गरेको थियो । अमेरिकाले सम्झौता भइसकेकाले एमसीसीका कुनै पनि बुँदा संशोधन गर्न नसकिने पनि अडान लिएको थियो ।
अमेरिकाले पठाएका जवाफ अध्ययन गर्दा एमसीसी संशोधन नहुने अडानका कारण नेपालको संसदमा प्रस्तुत गर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।
नेता गुरुङले सरकारले सोधेको प्रश्नको जवाफ गोलमोटोल दिएकोले अघि बढाउने च्याप्टर क्लोज भएको जिकिर गर्नुभयो ।
‘सरकारले सोधेको प्रश्नको जवाफ गोलमोटोल दिइएको छ, त्यसलाई संशोधन गर्न पनि नसकिने भनेपछि अहिलेकै अवस्थामा एमसीसी स्वीकार गर्न सकिँदैन,’ गुरुङले भन्नुभयो, ‘अब त्यसलाई संसदमा पेश गर्ने च्याप्टर क्लोजु भयो ।
आफ्नो पार्टीले एमसीसी परिमार्जन नभई पास गर्न नसक्ने अडान लिएको भन्दै नेता गुरुङले भन्नुभयो,‘यसबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्छ।’
एमसीसीकै विषयमा साझा धारणा बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवबीच दुई घण्टा छलफल भएको छ ।
सत्तारुढ नेपाली कांग्रेसले भने एमसीसी पास गरेर जानुपर्ने अडान जारी राखेको छ । दलहरुबीच एमसीसीका विषयमा ध्रुवीकरण भइरहेका बेला एमसीसीकी उपाध्यक्ष फातिमा सुमार चारदिने भ्रमणका लागि बिहीबार नेपाल आउनुभएको छ ।
यसैबीच एमसीसीबारे राजनीतिक दलहरूबीच नै मतभेद छ । कांग्रेस एमसीसी पारित गर्ने पक्षमा छ भने माओवादी यथास्थितिमा पारित गर्न नहुने निष्कर्षमा छ । तर, यही बेला एमसीसी उपाध्यक्ष फातिमाको नेपाल भ्रमणको अर्थ पूर्ण मानिएको छ।
अमेरिका यही समयमा एमसीसी सम्झौतालाई नेपालको संसदबाट पारित गराउने पक्षमा रहेको छ र सोही कारण फातिमाको नेपाल भ्रमण गराइएको टिप्पणी भइरहेको छ ।




















