काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ । बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर आसन्न १४ औं महाधिवेशनका लागि उहाँले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
कांग्रेसका संस्थापक बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी सङ्ग्रहालयले गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभयो । उहाँले घोषणा कार्यक्रममा युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने उद्घोष पनि गर्नुभएको छ ।
आगामी ९ देखि १३ मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन गर्दैछ । यसअघि कांग्रेस नेता युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।
त्यस्तै, अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताउनुभएको छ । उहाँले क्रियाशील सदस्यता विवाद टुंगो लागेपछि औपचारिक रूपमा घोषणा गर्ने बताउनुभएको छ । यससँगै कांग्रेसको महामन्त्री पदमा तीनजनाको प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ ।




















