काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट भेटघाट सुरु गर्न लाग्नुभएको छ । उपाध्यक्ष सुमार महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट सिधै ओली निवास भक्तपुरको बालकोट जान लाग्नुभएको हो ।
बिहीबार बिहान काठमाडौं आउनुभएकी उहाँ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न महाराजगञ्जबाट सिधै बालकोट जाने कार्यतालिका रहेको छ ।
अहिले उहाँ दूतावासका अधिकारीहरुसँग आन्तरिक छलफलमा रहनुभएको छ । सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहित काठमाडौं आइपुग्नुभएकी उहाँलाई सरकारले कडा सुरक्षा व्यवस्था दिएको छ।
फातिमा दिउँसो २ बजे बालकोट पुगेर पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीसँग पहिलो राजनीतिक भेटघाट गर्न लाग्नुभएको हो ।
अध्यक्ष ओलीले एमसीसी पास गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँचदलीय सत्तारुढ गठबन्धनको रहेको बताउँदै आउनुभएको छ । उहाँले केही दिनअघि संसदीय दलको बैठकमा सरकारले झुक्याएर एमसीसी पास गर्न लागेको आरोप लगाउनुभएको थियो ।