काठमाडौं । देउवा सरकारले प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजी र अवरोधका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गरेको छ ।
नेकपा एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको विरोधमा बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । तर एमालेको अवरोधका बीच सभामुखले गृहमन्त्री बालकृष्ण खाँडलाई अध्यादेश पेश गर्न अनुमति दिनुभएको थियो ।
एमालेको अवरोधका कारण अघिल्ला दुईवटा बैठक सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गर्नुभएको थियो । तेस्रो बैठकको सुरुमा नै एमाले सांसदको अवरोध र नाराबाजी छल्दै गृहमन्त्री खाँड रोष्टममा पुगेर अध्यादेश पेश गर्नुभयो ।
मन्त्री खाँणले अध्यादेश पेस गरेलगत्तै सभामुखले २५ भदौसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गर्नुभएको छ ।
यसअघि नेकपा एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो । सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई निर्णय प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो ।
अवरोधपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । १५ मिनेटपछि बसेको दोस्रो बैठक पनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख सापकोटाले बैठक स्थगित गर्नुभयो । नेकपा एमालेका सांसदहरुले सभामुख अग्नीप्रसाद सापकोटाले आफूहरुले कारबाही गरेका १२ जना सांसदहरुको कारबाही गरेको सूचना नटाँसेर एमाले विभाजनमा मतियार भएको आरोप लगाएका थिए ।