काठमाडौं । सत्ताधारी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको औचित्य समाप्त भएकाले अब विघटन गर्नतिर जाँदा हुने बताउनुभएको छ । आज पार्टी कार्यालय पेरिस डाँडामा सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (वैरागी) को २२ औँ स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै दाहालले यस्तो धारणा राख्नुभएको हो ।

उहाँले माओवादी पार्टीभित्र पद प्रतिष्ठा लिने प्रवृत्ति बढेको भन्दै माओवादी पार्टीकै औचित्य सकिएको बताउनुभयो । उहाँले माओवादी त अब त लोगो मात्र बाँकी रहेको गुनासो गर्नुभयो ।

आफूहरू छुट्टै प्रवृत्तिबाट आए पनि अब त्यो नरहेको भन्दै दाहालले माओवादी पार्टीको औचित्य सकिएको बताउनुभयो  । ‘यो पार्टी अब किन चाहियो ? हिजो क्रान्ति समर्पण र परिवर्तनका लागि हिँड्ने हामीहरू अब पद प्रतिष्ठाको लागि मात्र हिँड्ने हो भने यो पार्टीको औचित्य किन रह्यो ?  सबैभन्दा राम्रो त यस्तो पार्टी विघटन गरिदिएहुन्छ’, दाहालको भनाइ थियो ।

मार्क्स एंगेल्सले पनि आफैले बनाएको कम्युनिस्ट इन्टरनेश्नल विघटन गरेको स्मरण गर्दै दाहालले यस्तो पार्टी चलाएर जनतालाई धोका दिन अब नहुने बताउनुभयो । ‘बरु यो पार्टी विघटन गरौँ । पार्टी विघटन गर्नका लागि आजैबाट छलफल गरौँ ।’ दाहालको भनाइ थियो । ‘क्रान्ति गर्छौँ भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा विघटन गर्न उचित हुन्छ,’दाहालले भन्नुभयो । एमाले र कांग्रेसहरुसँग माओवादीले नसक्ने पनि दाहालले बताउनुभयो ।  माओवादी बिग्रिएको बताउँदै दाहालले अब सानो प्रयासले नसुध्रिने बताउनुभयो । उहाँले भन्नुभयो, हामी बिग्रिएका छौ‌ं तर पनि क्रान्तिको मोह भने बाँकी नै छ । हाम्रो रूपान्तरण सामान्य बलले नहुने भयो ।’ एमाले र कांग्रेसले जस्तो राजनीति गर्न आफूले नसक्ने बताउँदै दाहालले आफूहरू धेरै सानो परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।