काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिनुभएको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकमार्फत् उहाँले यस्तो चेतावनी दिनुभएको हो ।
आज प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काइन्छ कि फर्काइँदैन हेर्ने त्यो हेर्ने बताउनुभयो ।
उनीहरु उपस्थित भए बैठक नै सुरु हुन नसक्ने भन्दै उहाँले भन्नुयो, ‘नियमावलीअनुसार गैरसांसदको उपस्थितिमा संसद चल्न सक्दैन । हामीले साउन २५ गते नै निस्काशन गरेका व्यक्तिहरु उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं ?’
उहाँले भन्नुभयो, ‘यदि गैर सांसदको उपस्थिति छ भने कुनै पनि हालतमा सदन प्रारम्भै हुन दिँदैनौं ।’
संसदीय दलका नेतासमेत रहनुभएका ओलीले जनआन्दोलनको उपलब्धिसहित कम्युनिष्ट आन्दोलन र संघर्षलाई ध्वस्त बनाउन नेता माधवकुमार नेपाल लागेको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले सभामुख सापकोटा एमाले सिध्याउन खोज्नेहरूको मतियार बनेको बताउनुभयो । एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको पत्र बुझाउँदासमेत सभामुख सापकोटाले सूचना जारी नगरेर एमाले सिध्याउनेहरूको मतियार बनेको ओलीको भनाइ छ । कारबाही गरिएकाहरुलाई आज बैठकमा राखिए एमालेले संसद बैठक अवरुद्घ गर्ने भएको हो ।