पोखरा । पोखरामा १ सयभन्दा बढी पर्यटन व्यवसायी नेकपा एमाले प्रवेश गरेका छन् । पोखराको लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन क्षेत्रमा संस्थागत नेतृत्व गरेका व्यवसायीसहित १ सय १० जनालाई पार्टी प्रवेश गराउनुभएको हो ।
पार्टी प्रवेश गर्नेमा नेपाल हवाई खेलकुद संघका पूर्व अध्यक्ष एवं १८ औं एसियनका खेलका पदक विजेता पर्यटन व्यवसायी योगेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का महासचिव रामचन्द्र शर्मा, क्यानका गण्डकीका कोषाध्यक्ष राजेन्द्र तिवारी, महिला सञ्जाल बैदामका अध्यक्ष विष्णु केसी, टान सचिव मिलन तिवारी, कोषाध्यक्ष किसमकुमारी गुरुङ, सहसचिव रेशम अधिकारी, पूर्व अन्तर्राष्टिय खेलाडी रामबहादुर ढकाललगायत विभिन्न संघ, संस्था र व्यवसयमा आबद्ध पर्यटन व्यवसायी एमाले प्रवेश गर्नुभएको हो । उहाँहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले अबिर टीका र फूलमाला लगाएर पार्टीमा स्वागत गर्नुभयो ।
पार्टी प्रवेश गरेका नाका अध्यक्ष भट्टराईले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा पूरा गर्न तयार गरेका पूर्वाधार निर्माणका आधार, राष्ट्रिय स्वाधिनता पक्षमा गरेको निर्णय, श्रमिकका पक्षका गरेको योगदानमा आधारित सामाजिक सुरक्षा भत्ताजस्ता न्यायिक निर्णयले गर्दा आफूले एमाले पार्टी रोजेको बताउनुभयो ।
क्यानका कोषाध्यक्ष तिवारीले नेकपा एमालेले बोकेका एजेन्डा पूरा गर्न तयार गरेका आधारहरुलाई लिएर आफूले पार्टी प्रवेश गरेको र यस पार्टीमा सक्रिय रहेर जनताका बहुदलीय जनवादको पक्षमा लाग्ने सुनाउनुभयो ।
प्रदेश सांसद राजीव पहारीले ठूलो संख्यामा नेकपा एमालेमा भएको प्रवेशले पार्टीमा नयाँ उत्साह थपेको बताए । उनले भने, ‘राज्यको नीति निर्माणको तहमा अब पर्यटन क्षेत्रको पहुँच पुग्नेछ, यो प्रवेशले पोखरा र गण्डकी समग्र पर्यटनको निम्ति ठुलो टेवा पुग्ने छ ।’
पार्टी प्रवेश कार्यक्रम नेकपा एमाले केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री, गण्डकी प्रदेशका सांसद राजीव पहाराी, पार्टीका केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्मा, गोविन्द नेपाली, नेकपा एमाले कास्की अध्यक्ष कृष्ण थापालगायत सहभागी भएका थिए ।