उदयपुर । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेण्ट उद्योग लिमिटेडको महाप्रवन्धक पदमा गोपीकृष्ण न्यौपाने २०७७ माघ १ गते वहाल हुनुभएको थियो । न्यौपाने उद्योगको महाप्रवन्धक पदमा बहाली भए पश्चात हालसम्मको अवधिमा उद्योगको संचालक समिति, उद्योगका कर्मचारी, ट्रेड युनियन, सञ्चारकर्मी, आपूर्तिकर्ता, अधिकृत बिक्रेता, स्थानीय प्रशासन, स्थानीय निकाय लगायत आम जनसमुदायको सहयोग तथा सद्भावको कारण उद्योगले दिनप्रतिदिन सफलता हासिल गर्दै गएको छ ।
सवैको सहयोगले उद्योगमा रहेका विविध समस्याहरुको समाधान गर्दै आगामी दिनमा गरिने कार्यहरुको लक्ष्य निर्धारण गरी अघि बढ्ने व्यहोरा जानकारी गराउँदै निर्धारित कार्यक्रम सफल बनाउन सबैको सहयोगको अपेक्षा गरिएको उद्योगले जनाएको छ ।
उद्योगले न्यौपाने महाप्रवन्धक भएदेखि हालसम्मको अवधिमा मूलभूत रुपमा भएका प्रयासहरु र सफलताहरुको तथ्यांक सार्वजनिक गरेको छ ।
उद्योगका प्रशासन महाशाखाका प्रमुख कमलराज पौडेलले यही भदौ २० गते जारी गर्नु भएको प्रेस विज्ञप्तिमा भनिएको छ –
“यो उद्योग स्थापना भएपछि शुरुमा ६ सय भन्दा बढीले रोजगारी प्राप्त गरेका थिए भने अहिले पनि ४५० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाईरहेको अवस्था छ । अप्रत्यक्ष रुपमा ढुवानी सेवा, सुरक्षा सेवा लगायत ठूलो जनसंख्यालाई सकारात्मक प्रभाव परेको छ र स्थानीय स्तरको लागि आर्थिक उर्पाजनको श्रोत बनेको छ। वार्षिक रुपमा करीव ५ करोड अग्रिम कर, करीव ३ करोड अन्तःशुल्क, मुल्य अभिबृद्धि कर लगायत स्थानीय प्रदुषण शुल्क खानी उत्खनन् शुल्क लगायतको राजश्व जोड्दा वर्षेनी करीव ७० करोडको हाराहारीमा राजश्व योगदान पुर्याईरहेको अवस्था छ । सामान्य रुपमा बित्तीय बिबरण बिश्लेषण गर्दा अहिलेसम्म ५ अरब ५० करोडको नोक्सानी देखिए पनि जापान सरकारको अनुदान नेपाल सरकारको ऋण बापत मात्रै रु. २ अर्व ७५ करोड ४८ लाख ७० हजार २ सय रुपैया १ ब्याज खर्च समेत उक्त नोक्सानीमा समाबेश रहेको कारण नगद प्रवाहमा खासै प्रतिकूल प्रभाव नपरेकोले अन्य बैक तथा वित्तीय संस्थाबाट ऋण लिनु पर्ने वा नेपाल सरकारबाट अनुदान सहयोग लिनु पर्ने वाध्यात्मक अवस्था हालसम्म परेको छैन ।
मूल समस्याको पहिचान:
२९ वर्ष पूरानो कारखानामा जडित मिल मेसिनहरु मध्ये अधिकांश मिल मेसिनरीहरु जीर्ण अवस्थामा रहेको कारण पटक पटक बिग्रीरहने कारण उद्योग Break down भैरहने समस्याले ग्रसित छ, जसको कारण एकातिर मर्मत संभार खर्च अतिनै बढेको छ भने उत्पादनलाई निरन्तरता दिन नसक्दा “गैडा छाप” सिमेण्टको ब्राण्ड इमेजमै प्रतिकुल अवस्था श्रृजना हुंदै गैरहेको छ । उत्पादन क्षमता बमोजिम उत्पादन हुन नसक्दा उद्योगले ठूलो आर्थिक क्षति समेत बहन गरिरहनु परेको छ।
उल्लिखित मूल समस्यामा केन्द्रीत भई हाल सम्म भएको प्रगति विवरण तथा कार्ययोजना:-
1. बन्दप्राय: रहेको उद्योग संचालन:
२०७७ माघ १ देखि नै सिमेण्ट प्लान्ट र माघ १० गते देखि क्लिंकर प्लाण्ट संचालन गरिएको ।
कच्चापदार्थ तथा औद्योगिक वातावरण:
क्लिंकर उत्पादन गर्न प्रयोग हुने कोइलाको यार्डमा स्टक शून्य थियो, उद्योग परिसर, क्याण्टिन, शौचालय, पिउने पानी, क्लिनिक जो न्यूनतम अत्यावश्यक छ सोको ब्यबस्थापन अति नै दयनीय थियो। यो ७ महिनाको अवधिमा यी सबै ब्यबस्थापन गरिएका छन। धुलो, धुवाँलाई न्यूनीकरण गर्न EP संचालनलाई उच्च प्राथमिकता दिएको छ ।
2. सम्झौता बमोजिम भुक्तानी नियमित गरिएको:
कोइला, जिप्सम, आइरन ओर जस्ता कच्चापदार्थको भुक्तानी बैंक खाताबाट चेक मार्फत गर्नुपर्नेमा सिमेण्ट दिएर भुक्तानी गर्ने गरेको व्यवस्थाको अन्त्य गरिएको ।
3. स्टक भौतिक परीक्षण:…
धेरै लामो समय देखि Physical Stock नलिएको कारण खातामा देखाइएको परिणाम र भौतिक परिणामको एकिन गरिएको छ र निकै फरक देखिएको क्लिंङ्कर स्टकको बारेमा संचालक समितिद्वारा गठित उपसमितिले अध्ययन गरिरहेको अबस्था छ ।
4. विद्युत खर्चमा मितव्ययिता तथा बाँकी बक्यौता भुक्तानी:
1) लोडसेडिङको समयमा खानी क्षेत्रमा समेत उद्योगकै फिडरबाट दिएको बिद्युतीय लाइन लोडसेडिङ अन्त हुँदा समेत नियमित लाइनमा जडान गर्न नसक्दा उपभोक्तालाई पनि फाइदा नभएको र उद्योगलाई डिमाण्ड शुल्क लगायत मासिक रु. ४ लाख जति नोक्सानी परिरहेको देखिएकोले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला शसस्त्र प्रहरी कार्यालय, नेपाल विद्युत प्राधिकरण, स्थानीय वडा कार्यालय समेतको सहयोग लिई उक्त उद्योगबाट जडान गरिएको लाईन कटाइ अर्को नियमित लाइन जडान गरिएको ।
2) नेपाल विद्युत प्राधिकरणबाट आपूर्ति हुने विद्युत लाइन पटकपटक अवरुद्ध हुँदा त्यसको समुचित व्याक अपको ब्यवस्था पनि नभएकोले बिद्युत प्राधिकरण र उद्योगका प्राविधिक कर्मचारीहरु बीच छलफल गरी उपायहरुको खोजी गरेपछि हाल बिद्युत अवरुद्व हुने कार्य धेरै नै कम भएको ।
3) २०७७ साल फाल्गुण महिना सम्म तिर्न नसकेको बिद्युत महसुल उद्योगले डेडिकेटेड फिडर बापत तिरेको महसुलमा मिलान गरिदिन विद्युत प्राधिकरणमा पत्राचार भएको। २०७७ साल चैत महिना देखि नियमित रुपमा बिद्युत महसुल भुक्तानी गर्ने गरिएको छ ।
5. आर्थिक आय उपार्जन र व्ययमा मितव्ययिता:
1) २०७७ पौष मसान्त सम्मको बिक्री ६,९८,५८६ बोरा रहेको थियो । माघ १ गतेदेखि आषाढ मसान्तसम्मको बिक्री बोरा १०,६९,१८३ रहेको छ । पछिल्लो ६ महिनामा खुद बिक्री रकम रु. ७९,२२,०७,७०९।०० परिचालन गरि २०७७ साल पौष मसान्तसम्मको देहाय बमोजिमको दायित्त्व र २०७७ साल माघ पछि हालसम्म देहाय बमोजिमको दायित्त्व रकम भुक्तानी गरिएको छ ।
विवरण |
२०७७ पौष मसान्तसम्मको दायित्व |
२०७७ पौष मसान्तसम्मको दायित्वको भुक्तानी |
इन्धन तथा कच्चा पदार्थ | 23,18,18,851.00 | 11,90,37,871.00 |
अन्य सामान तथा सेवा खरिद | 3,85,38,464.22 | 2,50,90,856.00 |
बिद्युत महशुल | 18,52,40,436.14 | |
कर्मचारी संचयकोष नागरिक लगानी कोष | 2,94,25,000.00 | 2,94,25,000.00 |
कर्मचारी तलब अतिरिक्त समय भत्ता तथा अन्य | 90,00,000.00 | 90,00,000.00 |
मूल्य अभिबृद्धि कर | 7,64,23,322.00 | 1,86,76,362.00 |
अन्त: शुल्क | 1,35,79,274.00 | 1,35,79,274.00 |
सप्लाइ कर | 18,01,966.00 | 18,01,966.00 |
पारिश्रमिक आयकर | 3,81,75,589.28 | 12,34,000.00 |
सामाजिक सुरक्षा कर | 25,59,971.70 | 14,18,779.00 |
रोयल्टी | 24,10,732.56 | 24,10,732.56 |
ऋण तथा अन्य | 2,92,82,308.49 | 2,60,00,000.00 |
उपदान कोष तथा अषधी उपचार कोषमा जम्मा भएको रकम | 5,04,00,000.00 | |
जम्मा | 65,82,55,915.39 | 31,11,07,380.00 |
2) अधिकृत बिक्रेता निर्देशिका पुनर्लेखन तथा स्किम: अधिकृत बिक्रेता निर्देशिका, २०७१ लाई पुनर्लेखन गरी बिक्री नीति तथा कार्यविधि, २०७७ जारी गरी अधिकृत बिक्रेताहरुलाई लक्ष्य निर्धारण गरी बढी सिमेन्ट बिक्री गर्दा इन्सेण्टिभ दिने ब्यवस्था मिलाइएको छ । मिति २०७८।०५।१८ गतेको सञ्चालक समितिको निर्णयानुसार कारखाना द्धारमूल्य रु. ७४५।८० बाट फेष्टिवल डिस्काउण्ट गरी रु. ७२३।२० कायम गरिएको, अधिकृत बिक्रेतालाई टार्गेट इन्सेन्टिभ रु. २०/०० सम्म दिने ब्यवस्था र थप वार्षिक ५० हजार बोरा, १ लाख बोरा, २ लाख बोरा र ३ लाख बोरा बिक्री गर्ने अधिकृत बिक्रेताहरुलाई क्रमश: रु. ४,६,८ र रु. १० प्रदान गरी बिक्री प्रवर्द्धनमा जोड दिईएको । काठमाडौ उपत्यकामा गैडा छाप सिमेण्टको बर्चश्व कायम राखि राख्न उदयपुर-काठमाडौंमा लाग्ने प्रति वोरा भाडा रकम मध्ये रु. ३०।०० सोधभर्ना गर्ने गरी प्रोत्साहन गरिएको।
3) अनावश्यक खर्चहरु व्यापक कटौती भएका छन । कच्चापदार्थको मूल्यमा प्रतिस्पर्धा गराई लागत कम गरिएको छ । नयाँ नयाँ आपूर्तिकर्ताहरु प्रवेश गरेका छन र प्रतिस्पर्धी वातावरण बनिरहेको छ ।
6. नेपाल सरकारबाट प्राप्त अनुदान रकम:
उद्योग स्थापनाकाल देखि हालसम्म मिति २०७६।०८।२३ मा RSP जडानको लागि भनी प्राप्त गरेको अनुदान रकम रु. १ करोड ४९ लाख ६५ हजार समेत मुद्वती खातामा राखिएको भएपनि सो को सूरक्षणमा कर्जा उपभोग गरिराखेकोले सो कर्जा फरफारक गरी उक्त रकम सोही RSP /Kiln Shell को लागि माछापुच्छ्रे बैकमा मुद्वती खातामा राखिएको छ । चालू आर्थिक बर्षको बजेटमा सो रकम खर्च गर्ने लक्ष्य लिएको छ ।
7. राजस्व बक्यौता र भुक्तानी:
1) २०७७ साल पौष मसान्तसम्म देहाय बमोजिम राजस्व बक्यौता रहेको थियो:-
1) अन्त:शुल्क: १,३५,७९,२७४।००
2) मुअकर: ७,६४,२३,३२२।००
3) खानी दस्तुर: २४,१०,७३२।००
4) टिडिएस तथा अन्य: ४,००,७७,५५५।००
सो बक्यौता मध्ये हालसम्म रु. ३,९१,२१,११३।०० भुक्तानी भैसकेको छ ।
2) २०७७ माघ देखि नियमित रुपमा राजस्व भुक्तानी लाई पहिलो प्राथमिकतामा राखी तिर्ने गरिएको र उक्त बक्यौता रकम पनि नगद प्रवाह अनुकुल हुनासाथ तिर्दै जाने नीति लिएको छ।
यो आर्थिक बर्षमा मात्र विद्युत महसुल बाहेक रु. १९,३८,५९,३२७।०० र बिद्युत महसुल समेत रु.४१,२५,४८,८६८।०० संकलन गरिएको छ ।
8. कम्पनीको साधारण सभा सम्पन्न:
1) कम्पनी दर्ता भएको आर्थिक वर्ष २०४४।४५ देखि नै कम्पनी रजिष्टारको कार्यालयमा अद्यावधिक नगरिएकोमा आर्थिक वर्ष २०६३/६४ देखि आ. ब. २०७६/७७ सम्मको बार्षिक साधारण सभा सम्पन्न गरी अद्यावधिक गरिएको छ।
2) कम्पनी ऐन बमोजिम लाग्ने जरिवाना दस्तुर आदि करोडौं लाग्नेमा आर्थिक ऐनले १० प्रतिशत मात्रै लिने ब्यबस्था गरेकोले ढिलै भएपनि ठिक समयमा साधारण सभा गरेकोले ठूलै खर्च जोगिएको ।
3) अन्य नियमित विषयका अलवा साधारण सभाले उद्योगको नाममा जापान सरकारले दिएको अनुदानलाई सरकारले ऋणको रुपमा लेखाङ्कन गर्न लगाएको छ, यस्तो १ अर्ब ७२ करोड ५० लाख ऋण रकमलाई साधारण शेयरमा परिवर्तन गर्ने निर्णय गरेको छ । जसबाट उद्योगलाई ब्याजको भार नपर्ने र प्रती बोरा रु. ३०/- को हाराहारीमा लागत कम हुने अनुमान गरिएको छ ।
9. आन्तरिक लेखापरीक्षण:
उद्योगको आन्तरिक लेखापरीक्षण गर्ने संचालक समितिको निर्णय भएपनि कार्यान्वयन नहुनाले आर्थिक मितव्ययिता, ऐन कानुनको परिपालना, बजेट तुलना लगायत सूशासन संग सम्बन्धित कुराहरु परिपालना गर्दै आर्थिक अनुशासन माथि प्रश्नचिन्ह उठ्न सक्ने विषयलाई गम्भिरता पूर्वक लिएको छ । तसर्थ गत आ. ब. को पहिलो छ महिनाको आन्तरिक लेखापरीक्षण कार्य सम्पन्न भै प्रतिवेदन प्राप्त भैसकेको छ भने २०७७ माघ देखि २०७८ आषाढ मसान्तसम्मको आन्तरिक लेखापरीक्षण भैरहेको अवस्था छ । प्रतिवेदनमा औंल्याइएका कैफियतहरु सम्बन्धित बिभाग/महाशाखाबाट सुधार गर्दै जाने नीति लिएको छ ।
10. Enterprises Resource Planning (ERP):
उद्योगमा जडान गरिएको ERP System लाई अद्यावधिक गरी उत्पादन, स्टोर्स, लेखा, मानव संसाधन, बिक्री सबै बिभागको MIS मार्फत सूचना आदानप्रदान गर्न थालनी गरिएको छ ।
11. Nepal Financial Reporting Standard (NFRS):
बिगत बर्ष देखिनै NFRS मा आधारित रहेर वित्तीय बिवरण तयार गर्नुपर्नेमा हुन नसकेको साथै अर्थ मन्त्रालयले समेत ताकेता गरेकोले आ.व. २०७७/७८ को वित्तीय विवरण NFRS मा आधारित रहेर तयार गर्नेगरी कन्सल्टेण्ट नियुक्ति गरी कार्य अन्तिम चरणमा पुगेको छ ।
12. Organization & Management Survey:
1) मिति २०७८/४/३ को संचालक समितिको निर्णयले कर्मचारीहरुको कार्य विवरण, संगठन तालिका सहितको प्रतिवेदन पारित गरी लागू गरेको छ। साबिकमा स्वीकृत दरबन्दी ६१३ भएपनि दैनिक ज्यालादारी र वाह्यश्रोत बाट १७५ जना गरी कुल ७८८ जना कर्मचारी राखिएको/राख्न सकिने गरी रहेको भएपनि उक्त प्रतिवेदन स्वीकृत भएपछि कुल ५३३ जना मात्र कर्मचारीको दरबन्दी कायम गरिएको छ।
2) ज्यालादारी वा वाह्यश्रोत वा करारमा कर्मचारी लिनु पर्दा उल्लिखित दरबन्दीबाट भित्रै रहेर लिनुपर्ने गरी पिरामिड शैलिमा नयाँ संरचनात्मक ढांचा कायम भएको छ। यो निकै ठूलो र महत्त्वपूर्ण उपलब्धि भएको भन्ने सबैले महसुस गरेका छौं।
3) खासगरी उद्योग पुरानो भएकोले मर्मत संभारमा ध्यान दिनको लागि Maintenance बिभागलाई वर्कसप र प्लाण्ट सपोर्ट बिभाग, Electrical बिभागलाई इलेक्ट्रीकल र इन्स्ट्रुमेण्टेशन बिभाग गरी अलग अलग गरिएको छ। चाप कम भएका बिभागहरुलाई मर्ज गरिएको छ। आन्तरिक लेखापरीक्षण र गुण नियन्त्रण महाशाखा महाप्रबन्धक अन्तर्गत राख्ने व्यवस्था मिलाइएको छ। तीन जना नायव महाप्रबन्धकलाई प्रोसेस, सपोर्ट र प्रशासन हेर्ने गरी ब्यवस्था गरिएकोले काममा जिम्मेवारी बोध भै उत्पादन र उत्पादकत्वमा सकारात्मक संकेतहरु देखिन थालेका छन।
13. मुद्वा मामिला:
1) पावर प्याकको मुद्वा उच्च अदालत बाट उद्योगको अनुकुल फैसला भएको छ । तर पार्टीले मध्यस्थमा निबेदन गरेकोले मध्यस्थकर्ताहरुले स्थलगत निरिक्षण गरी सुनुवाइको क्रममा रहेको छ।
2) सर्भो भोल्टेज स्टेबलाइजरको मुद्वामा मध्यस्थले उद्योगलाई हराइ पुनराबेदन अदालत राजबिराजबाट सदर भै प्रस्तुत उद्योगको करीब १९ बिगाह जग्गा रोक्का रहेको र त्यो मध्ये ०-२-१७ जग्गा लिलाम बिक्री समेत भै पार्टीले लिलाम सकार गरेको अबस्था छ। महाप्रबन्धकज्यूको पहलमा मालपोत कार्यालयमा नामसारी हुनु अगावै सर्वोच्च अदालतबाट भएको फैसला बमोजिम उक्त सबै कार्य बदर भएकोले उक्त लिलाम भएको जग्गा समेत रोक्का फुकुवाको लागि सप्तरी जिल्ला अदालत राजबिराजबाट प्रकृया पुरा गरी मालपोत कार्यालय उदयपुरले फुकुवा गरिसकेको छ।
3) डिजेल चोरी काण्डमा तीनजना ड्राइभरको मुद्वा जिल्ला अदालत उदयपुरमा बिचाराधीन रहेको छ ।
4) तिरिसकेको अन्त:शुल्क तथा मूल्य अभिबृद्धि कर पुन: गणना गरी ठूला करदाता कार्यालयले गरेको कर निर्धारण उपर आन्तरिक राजस्व बिभागमा पुनरावलोकन निबेदन दिएका छौं।
5) उई आर सप्लायर्सले समयमा कोइला नदिई परफरमेन्स बण्ड जफत गर्ने उद्योगको निर्णय विरुद्ध काठमाडौ जिल्ला अदालतमा दायर गरेको मुद्दा उद्योगको पक्षमा फैसला भई पून: बैकमा दावी गरिएको छ।
6) अन्य सामान्य कर्मचारीहरुका सेवा सुविधा सम्बन्धि मुद्वाहरु बाहेक खासै उल्लेख गरिरहनुपर्ने किसिमका मुद्वाहरु छैनन।
7) रिजेक्टेड कोइलाको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनको क्रममा मन्त्रालयले कार्य योजना र कार्यान्वयनको स्थितिको बारेमा जानकारी लिइ फरफारक हुने चरणमा छ ।
14. माघ देखि हालसम्म मूख्य मूख्य मर्मतसम्भार:
1. Secondary Crusher Hammer Replacement: ह्यामरहरु राम्रो अवस्थामा नभएको कारण क्षमतामा सञ्चालन हुन नसकेकोमा सेकेण्डरी क्रसरको ह्यामरहरु फेरी सञ्चालन गरीएको।
2. Raw Mill Tyre, Bearing, Liner &Hydraulic Cylinder Replacement: रमिलको Tyre, Liner, तथा Hydraulic Cylinder फेरी सञ्चालन गरिएको।
3. Kiln Inspection, Alignment &Modification: Deform भएको क्लिनको सेलमा आवश्यक मर्मत गरी सञ्चालन गरिएको।
4. Coal Mill Roller Maintenance & Bearing Replacement: कोल मिलको रोलर, टायर मर्मत गरी सञ्चालन गरिएको।
5. Grate Cooler Beam, Bearing &Plates Replacement: कुलर सिस्टमको बीम प्लेट परिबर्तन गरी सञ्चालन गरिएको ।
6. EP Electrode &Beam Plate Maintenance: EP को रड, प्लेट तथा बीम मर्मत गरी सञ्चालन गरिएको।
7. Coal Transportation Belt Extension Project: कोल यार्डबाट कोइला लोडर मार्फत हाल्ने गरिएकोमा Conveyor Belt मार्फत पठाउन Coal Transportation Belt बनाउने कार्य शुरु गरिएको।
8. GBF fan Bearing, Casing & Fan Replacement: जि बि एफ मर्मत गरी सञ्चालन गरिएको छ।
9. Cement Mill Diaphragm &Liner Replacement: सिमेण्ट मिलको डाइफार्म तथा लाइनर फेरी सञ्चालन गरिएको छ ।
15. Kiln Shell Replacement:
यस अघिको व्यवस्थापनबाट ५.१ मिटर Kiln Shell Replacement गरेकोमा सो फेरेभन्दा अघिल्लो भाग पहिलो टायर देखि दोश्रो टायर सम्म करीब २० मिटर Kiln Shell फेर्नको लागि टेण्डर गरिएकोमा चारवटा मल्टिनेसनल कम्पनीका टेण्डर परेकोमा मुल्यांकन समितिको सिफारिसमा अन्य तोकिएका विधि प्रक्रिया र मूल्य कम भएको भारतको सिम्प्लेक्स कम्पनीलाई Award गरि सम्झौता सम्पन्न भएको छ । आगामी फेब्रुअरी भित्र उक्त कार्य सम्पन्न गरिनेछ ।
16. Reinforcement Suspension Pre-heater (RSP):
हालको उल्लेखित अवस्थालाई सुधार गरी ८ सय मेट्रीक टन सिमेण्ट उत्पादन गर्नका लागि कतिपय मेशिनहरु फेर्नुपर्ने,कतिपय मेसिनहरु मर्मत संभार गर्नुपर्ने र कतिपय मेसिनहरु संचालनमा रहेपनि कुनै कारणले बन्द भएमा बनाउनै नसकिने Old Model भएकाले ठूलो खर्च आउने देखिएको छ । उत्पादन कार्यको मुख्य KLIN SHELL को ३ वटा भाग मध्ये एक भाग काटेर फेरिसकिएको र करीव २० मिटर काट्न पर्ने अवस्थामा रहेकाले सो काटेर फेर्नेपर्ने अवस्था छ । अर्कोतिर बजार प्रतिस्पर्धाको दृष्टिकोणले हेर्दा सबै निजी कारखानाहरुले Reinforced Suspension Preheater (RSP) जडान गरी उत्पादन गरिरहेको अवस्थामा हाम्रो पुरानो System को प्रविधिवाट प्रतिस्पर्धी हुनै नसक्ने स्थिति पैदा भएको छ ।
SP System परिवर्तन गरि RSP बनाउनको स्पेसिफिकेसन, डिजाइन तथा ड्रइङ्ग तयार गरी सुपरभिजन गर्नका लागि कन्सल्टेण्टको लागि बोलपत्र आव्हान गरिएको छ ।
17. रातोमाटो (Red Clay):
नजिकको रातोमाटो खानी सकिदै गएकोले उद्योगले भोगाधिकार पाएको चौदण्डीगढी नगरपालिका स्थित बेलटारको खानीबाट उत्खनन गर्न खानी बिभागबाट सर्भे लाइसेन्स प्राप्त गरी अनुमतिको लागि माइनिङ्ग स्किम लगायतका कागजातहरु पेस गरी स्वीकृत लिने अन्तिम चरणमा रहेको छ। सो क्षेत्रको माटो नमूनाको लागि संकलन गर्न खानी विभागबाट अनुमति प्राप्त गरी चौदण्डीगढी नगरपालिकाबाट समेत प्रकृया अधि बडाई सम्वन्धित बडा कार्यालयमा सकारात्मक रुपमा छलफल भईरहेको सन्दर्भमा छिट्टै सकारात्मक पहल भई माटो ढुवानी कार्यमा सहजीकरण हुने र उद्योग सञ्चालनमा स्थानीय निकायको समेत महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको छ।
18. जग्गा तथा सम्पत्तिको संरक्षण र सम्बर्द्धन:
1) उद्योगको नाममा रहेको जग्गा जमिनको हाल साबिक सम्पन्न गरिएको छ । उद्योगको नाममा उद्योग रहेको स्थानमा करीब ५० बिगाह र सुकौरास्थित साइट अफिसमा ५५० रोपनी बाहेक अन्य जग्गा बनको नाममा रहेको देखिन्छ । उद्योग शुरुआत संगै बनले उद्योगलाई दिने भनी निर्णय गरेको भएपनि उद्योगको नाममा नामसारी भएर आएको नदेखिएकोले पत्राचार गरिन थालिएको छ । हाल उद्योग रहेको क्षेत्र समेत बनकै नाममा रहेको देखिन्छ ।
2) उद्योग कलकारखाना, स्टक आदिको बिमा नगरिरहदा जोखीम बढ्ने भएकोले रु. ३ अरब ६० करोड सम्पत्तिको बिमा गरिएको छ ।
19. संस्थागत सामाजिक उत्तरदायित्व:
उद्योगले सिमेण्ट निकासीमा नगरपालिकालाई दिदै आएको प्रति बोरा रु.२/५० लाई यथावत कायम राख्दै महाप्रवन्धकको पहलमा सगरमाथा इन्स्योरेन्सको सहयोगमा एम्बुलेन्स खरिद र प्रयोगशाला स्तरोन्नतिको लागि रु. १५ लाख जुटाइदिएको छ । प्रयोगशाला उपकरणको लागि उद्योगकै पहलमा माछापुच्छ्रे बैकले रु. ५ लाख ६५ हजारको सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । यसबाट उद्योगका कर्मचारी लगायत असरग्रस्त क्षेत्रका आम नागरिकहरुले सहुलियत दरमा सेवा प्राप्त गर्नेछन । अन्य CSR का कार्यक्रमहरु नीति तथा कार्यक्रम अनुसार लागू गर्दै जाने योजना रहेको छ।
20. कोभिड कहरको उचित व्यवस्थापन:
कोभिड कहरबाट एकजना कर्मचारीको घरमै दुख:द देहावसान भएको, बाहिर गएका केही कर्मचारीलाई संक्रमण भएको भएपनि ७ दिन बाहेक कोभिड कहरको कारणले उद्योग बन्द रहेन । कारखाना भित्र स्वास्थ्य सम्बन्धि न्यूनतम मापदण्ड अप्नाइ संचालन गरिएको, नजिकको स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिण्डर सहयोग गरी आइसोलेसन बेड तयार गरिएको तथा जिल्ला अस्पताल संग समन्वय गरिएको थियो भने सबै कर्मचारीहरुलाई खोपको प्रवन्ध गरी खोप लगाइसक्नुभएको अबस्था छ ।
21. कर्मचारीहरुको लागि प्रोत्साहन:
1) २०७७ साल श्रावण महिना देखि जम्मा नभएको संचयकोष, नागरिक लगानी कोष रु. ३ करोड २४ लाख जम्मा गरि नियमित भएको ।
2) २०७७ मार्ग देखिको ओभरटाइम, तलब आदि भुक्तानी गरी हरेक महिनाको १ गते तलव, १५ गते भित्र ओटी दिन शुरु गरिएको ।
3) औषधि उपचार र उपदानको रकम जम्मा नहुनाले आफ्नो पाउनुपर्ने रकमको पत्र लिएर क्यूमा बसेका अधिकांश अवकाश प्राप्त कर्मचारीको लागि माघ पछि हालसम्म रु. ५ करोड जम्मा गरिसकेकोले २०७८ बैशाख देखि यता अवकाश हुने बाहेक प्रायः सबै कर्मचारीले भुक्तानी पाइसकेका । यस्तो जम्मा गर्न बांकी दायित्व रु. १ अर्ब भन्दा बढी रहेको ।
4) सम्पति बिमाबाट प्राप्त हुने कमिशन रु. २ लाख २५ हजार कर्मचारी कल्याण कोषमा जम्मा भएको ।
5) गेट, अगाडिका पर्खाल संरचना, भवन, क्याण्टिन, खानेपानी, सरसफाइ, बगैंचा, शौचालय आदिको मर्मत तथा संभार एवं संरक्षण गरिएको ।
6) उद्योग भित्र रहेका तीनवटै ट्रेड युनियनहरुलाई समन्वयात्मक भूमिका खेल्ने वातावरण रहेको र हालसम्म अत्यन्त सकारात्मक भूमिका खेलेर सहयोग गरिरहेको ।
7) दैनिक समस्या र समाधान बिषयमा महाप्रबन्धक, नायव महाप्रबन्धकहरु, महाशाखा प्रमुखहरु, बिभागीय प्रमुखहरुको प्लाण्टमै नियमित बैठक गरी निर्णय अभिलेख गर्ने गरिएको ।
8) अनावश्यक ओटी, काज, सट्टा बिदा नियन्त्रण र नियमन गरिएको ।
22. पत्रु (Scrap):
1) उद्योगमा यत्रतत्र छरिएर रहेका काम नलाग्ने बस्तुको समिति मार्फत संकलन तथा परिमाण एकीन गरी मुल्यांकन समिति बाट मुल्यांकन गराई पहिलो चरणको लिलामको प्रक्रियामा अधिकतम रु.२ करोड ४१ लाखको बोलपत्र परेको सन्दर्भमा सञ्चालक समितिको मिति २०७८।०५।१७ गते बसेको बैठकको निर्णयानुसार कानुनी प्रकृया पुरा गरी लिलाम बिक्री सम्पन्न गर्न महाप्रवन्धकलाई दिएको।
2) मेसिन औजार र सवारी साधनको सन्दर्भमा मेकानिकल इन्जिनियरबाट काम नलाग्ने भनी प्रमाणित भएकाको हकमा मात्र लिलाम बिक्री गर्न सकिने भएकोले सो अनुसार प्रमाणित भएका मेसिन औजार र सवारी साधनको मात्र मुल्यांकन समिति गठन भै मुल्यांकनको क्रममा रहेकोले सो पश्चात् लिलामको सूचना प्रकाशित गरिने छ। सञ्चालक समितिको मिति २०७८।०५।१८ गते बसेको बैठकको निर्णयानुसार कानुनी प्रकृया पुरा गरी लिलाम बिक्री सम्पन्न गर्न महाप्रवन्धकलाई दिएको।
23. बेरुजु:
यस उद्योगले आर्थिक वर्ष २०७६।७७ सम्मको महालेखा परीक्षकको कार्यालयबाट लेखा परीक्षण सम्पन्न गराई सकेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा औल्याईएको व्यहोराको संपरिक्षणको लागि कार्य भै रहेको छ।
24. आ. व. २०७८/७९ को लागि नीति तथा कार्यक्रम, बजेट पारित:-
1) आ. व. २०७८/७९ मा २४ लाख बोरा सिमेण्ट बिक्री गरी रु. १ अर्ब ५० करोड ७ लाख ६ सय आम्दानी गर्ने, सो बाट खर्च कटाइ खूद आय रु. १६ करोड १३ लाख ७० हजार हुने अनुमान गरिएको छ ।
2) यस आर्थिक बर्षमा रु. ५० करोडको स्थिर सम्पत्तिमा लगानी हुनेछ । पुरानो मेसिन उपकरण भएकोले बजेटमा प्रस्तावित मिल मेसिनरी औजारहरुको पूंजिगत प्रकृतिका मिल मेसिनरी मर्मत संभार गर्न, पुनर्स्थापित गर्न, स्तरोन्नति गर्नको लागि तथा खानीजन्य अन्य सम्पत्तिहरुको सम्बर्द्धन गर्दै अधिकतम उपयोगी बनाइ उत्पादन र उत्पादकत्व बृद्वी गरी कम्तिमा उत्पादन क्षमताको ४७ प्रतिशत उत्पादन लक्ष्य हासिल गर्न उल्लिखित रकम खर्च गरिनेछ । यसमा आन्तरिक श्रोतबाट रु. १० करोड र नेपाल सरकारबाट अनुदान वा ऋण, बाणिज्य बैकबाट ऋण आदिबाट रु. ४० करोड जुटाइने व्यवस्था मिलाइने कार्य योजना बनाइएकोमा सो कार्य योजना श्री उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट मिति २०७८।०५।११ गते स्वीकृत भै सिफारिस सहित श्री अर्थ मन्त्रालयमा ऋणको लागि पत्राचार गरिएको छ।
25. दीर्धकालीन योजना:
उदयपुर सिमेण्ट उद्योग लि.को उद्योग स्थलवाट २७ कि.मी. (रोप्वेबाट १३ कि.मि.) मा रहेको खानीमा करीव ७ करोड ३५ लाख मे.टन सिमेण्ट उत्पादन हालको क्षमता अनुसार ४ सय वर्ष भन्दा बढी अवधिलाई पुग्ने मुख्य कच्चा पदार्थ चुनढुङ्गा -Limestone_ रहेको छ । सो चुनढुङ्गाको गुणस्तर Calcium Oxide CaO—50% भन्दा बढी रहेको र Mgo 2 % भन्दा कम रहेको कारण यो चुनढुङ्गाको गुणस्तर दक्षीण एसियाकै उच्च गुणस्तरीय चुनढुङ्गाको रुपमा मानिएको छ। तसर्थ स्थानीय, प्रदेश तथा संधीय सरकार, उदयपुरबासी नागरिक, कर्मचारी तथा सर्वसाधारण नागरिकको समेत शेयर स्वामित्वमा पहुँच हुने गरी नेपाल सरकारले तोकेको मोडलमा उक्त चुनढुङ्गा खानीलाई बढीमा ३० बर्ष भित्र उत्खनन् गरिसक्ने योजनाको बारेमा प्रारम्भिक अध्ययन भैरहेको छ।”