संखुवासभा । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको अनुसन्धान आजदेखि सुरु भएको छ । सो घटना अनुसन्धानका लागि पुगेको टोलीले आज बिहानदेखि घटनाको सूक्ष्म अनुसन्धान थालेको हो ।
संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको हत्या भएको घटनास्थल पुगेको प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान थालेको छ ।
संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोली सोमबार राति घटनास्थल पुगेको थियो । मंगलबार बिहानबाट घटनास्थलको अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक दाहालले जानकारी दिनुभयो ।
अनुसन्धान टोलीले घटनाको छानबिन गर्न र घटनास्थलको निरीक्षणका लागि दुईवटा तालिमप्राप्त कुकुरहरुलाई समेत लगेको छ । सोमबार रातभर पानी परेका कारण मंगलबार बिहानमात्रै कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी दाहालले बताउनुभयो ।
सोमबार बिहान शव भेटिएपछि प्रहरीले घटनास्थल सिल गरेको थियो । कुकुरको प्रयोगका लागि रातभर घटनास्थलमा नै शव छाडिएको थियो । तर पानी परेका कारण कुकुर प्रयोगको प्रभावकारिता कम देखिने प्रहरी स्रोत बताउँछ । कुकुरले सुँगेर सम्भावित आरोपीसम्म पुर्याउने काम गर्छ ।
सोमबार बिहान मादी नगरपालिका-१ उमलिङको खोला गाउँमा र बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । आँखा कम देख्ने र काम कम सुन्ने ९३ वर्षीय बौद्धमान सकुशल हुनुहुन्छ ।
उहाँकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, छोरा ५२ वर्षीय तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्की हत्या भएको हो ।
प्रहरीका अनुसार पार्वतीको शव घरभित्र ओछ्यानमा सुतेकै अवस्थामा छ । तेजबहादुरको शव घरदेखि बाहिर सडकमा घोप्टो परेको अवस्थामा छ । ज्याकेट र गम्बुट लगाएका उहाँको भाग्दाभाग्दै हत्या गरेको जस्तो देखिन्छ ।
रञ्जना र कमलाको शव घर नजिकैको खोल्सामा छ । दिपेन र गोमाको शव घरदेखि खरबारीमा छ । घोप्टो अवस्थामा रहेका उनीहरुको शव करिब पाँच मिटरको दूरीमा छ ।
पाँचजनाको भाग्दा भाग्दै र एक जना वृद्ध महिलाको सुतेकै अवस्थामा हत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।