काठमाडौँ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको पाँच हप्तापछि बल्ल सरकारले भारतलाई पत्र पठाएको छ । यसका साथै नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा समेत आपत्ति जनाउँदै सरकारले भारतलाई पत्र पठाएको छ ।
दुवै घटनामा भारतको संलग्नता रहेको भन्दै नेपालस्थित भारतीय दूतावासमार्फत् कूटनीतिक पत्र पठाइएको हो । तुइन घटनामा एसएसबी जिम्मेवार रहेकोमा आपत्ति जनाउँदै संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पत्रमार्फत् भनिएको छ ।
भारतीय ज्यादतीको विरोध नेपालमा अझै चर्कने देखेपछि बल्ल सरकारले दुवै घटनालाई समेटेर भारतलाई औपचारिक पत्र लेख्दै संलग्नमाथि कारबाहीको माग गरेको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पछिल्ला दुवै घटनाबारे कूटनीतिक पत्राचार भएको बताउनुभयो । उहाँले नेपालस्थित दूतावासमार्फत भारतलाई बुझाइएको पत्रमा उल्लेख गरिएका विषयबारे भने केही बताउन चाहनुभएन ।
भारतीय हेलिकोप्टर बिनाअनुमति नेपाली आकाशमा उडाइएकोमा गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि आगामी दिनमा दोहोरिन नदिन ध्यानाकर्षण गराइएको छ । तुइन घटना र नेपाली आकाशमा भारतीय हेलिकोप्टर अनधिकृत रूपमा उडाइएपछि भारतीय ज्यादतीविरुद्ध सर्वत्र विरोध भइरहेको छ । सीमा क्षेत्रमा भएका घटनामा भारतसँग सामान्य सोधपुछसमेत गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।