काठमाडौं । आज देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १‚ बागमती‚ गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ ।

उत्तरपश्चिम बंगालको खाडीमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभाव र देशको पश्चिमी तराई नजिक मनसुनको न्यूनचापीय रेखा रहेकाले मंगलबार बिहान देशका अधिकांश स्थानमा मौसम बदली रहेको छ ।

प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो र राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै महाशाखाले भीषण वर्षा हुने क्षेत्रहरुमा सचेत रहन आग्रह गरेको छ ।