काडमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमाले विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्न दिएको समय आज सकिने भएको छ ।
एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी गठन भएपछि आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई विभाजित दल रोज्न आजसम्मको समय दिएको हो ।
निर्वाचन आयोगले गत भदौ ९ गते एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको थियो । त्यसपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधनअनुसार दल विभाजन भएको २१ दिनको समय पुग्ने गरी २२ भदौसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको थियो ।
सातवटै प्रदेशका प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोज्नेक्रम जारी रहेको निर्वाचन कार्यालयहरूले जनाएका छन् । निर्वाचन आयोगले देशैभरबाट संकलन भएको सनाखतको तथ्यांक आयोगमा आइपुग्न एक हप्तासम्म समय लाग्न सक्ने अनुमान गरेको छ ।