काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारलाई घरको बाघ र वनको स्यालको संज्ञा दिनुभएको छ । युवा संघले सोमबार राजधानीमा गरेको कार्यक्रममा ओलीले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले आफ्ना नागरिक तुइनबाट खसालिँदा पनि सरकार चुइक्क बोल्न नसक्दा नेपालीको शिर झुकेको बताउनुभयो । उहाँले तुइनबाट खसालेको भनेर प्रतिवेदन आउँदा पनि सरकारले केही बोल्न नसकेको बताउनुभयो । भारतले यसबारे थाहा छैन भनेको भन्दै उहाँले भन्नुभयो, ‘यो सरकारले थाहा दिन सक्दैन ।’
सडकमा आएका युवाहरुलाई लाठी बर्साउने सरकारले भारतसँग चुइँक्क नबोलेको भन्दै उहाँले भन्नुभयो, ‘यसलाई भन्छ, घरको बाघ, वनको स्याल ।’
एक अर्को प्रसंगमा धारणा राख्दै अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको मौनताबारे प्रश्न गर्नुभयो । गृह मन्त्रालयले एमसीसीको विरोध तथा भारतीय प्रधानमन्त्रीको पुत्ला दहनको विषयमा जारी गरेको वक्तव्यलाई लिएर उहाँले प्रश्न उठाउनुभएको हो ।
रामकुमारीको नाम नलिई एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘जो मन्त्री हुन खुट्टा उचालेर बसेका छन्, तिनै मान्छेहरु हिजो ज्याकेट दर्शकतिर फुत्त फ्याँकेर, मास्क स्टाइलिस पाराले फुत्त खोलेर, आफैंले टाँसेको टेप फिल्मी स्टाइलमा निकालेर बोल्न पाइन्छ भन्थे । म अहिले सोध्न चाहन्छु तिनीहरु र तिनीहरुको सरकारलाई, बोल्न पाइन्छ कि पाइदैन नेपालमा ? देशबारे बोल्न पाइन्छ कि पाइँदैन ? राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ?’
राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर आफूलाई पक्राउ गर्ने तयारी गरेको थाहा पाएपछि गत माघ २८ गते साबिकको नेकपाले काठमाडौंमा गरेको विरोध सभामा नेतृ झाँक्री मुखमा कालो टेप लगाएर मञ्चमा पुगेकी थिइन् । मुखमा कालो टेप लगाएर मञ्चमा पुगेकी उनले टेप खोलेर बोल्न पाइन्छ भनेर प्रश्न गरेकी थिइन् । त्यसको भोलिपल्ट उनलाई पक्राउसमेत गरिएको थियो ।
एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा अधिनायकवाद भयो, बोल्न पाइन्छ भन्नेहरुको सरकारले बोलेमा कारबाही गर्छु भन्न थालेको बताउनुभयो । तर हिजो बोल्न पाइन्छ भन्नेहरु आज चुइँक्क नबोलेको भन्दै उहाँले आश्चर्य प्रकट गर्नुभयो ।
सभामुख अग्नि सापकोटा एमाले विभाजनको षड्यन्त्रमा सामेल भएको भन्दै अध्यक्ष ओलीले सापकोटाले सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्सि संसद सुरु हुँदैछ । हामी सोध्नैपर्ने हुन्छ, अग्निप्रसाद सापकोटा सभामुखको हो कि गठबन्धनको प्यादा ?’
प्रमुख प्रतिपक्षी पार्टी फुटाउने षड्यन्त्रमा सामेल भएको र सापकोटाले निष्पक्ष रुपमा सभामुखको भूमिका निर्वाह गर्न नसक्ने अध्यक्ष ओलीले बताउनुभयो ।
सभामुखको कुर्सीमा बसेर सापकोटाले संसद पुनर्स्थापना अधिनायकवादको पराजय हो भनेको भन्दै ओलीले भन्नुभयो, ‘कुनै महत्व थाहा छैन, त्यस्तो मान्छे सभामुखको कुर्सीमा विराजमान छ । कस्तो दुर्भाग्य यो देशको, लडेर वलिदान दिएर यत्रो सिस्टम ल्याइयो । त्यो सिस्टमको टुप्पाटुप्पामा हेर्नुस् त कस्ता मान्छे छन् ?’