संखुवासभा । संखुवासभाको उम्लिङ्गमा एकै परिवारका ६ जना सदस्यको शव फेला परेको छ ।
संखुवासभा जिल्लाको मादीनगरपालिका १ उम्लिंग खोलागाउँका सोमबार बिहानमात्र छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय शिक्षक योगेन्द्र ओझाले बताउनुभयो ।
५८ वर्षीया तेजबहादुर कार्की, उहाँकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको ओझाले जानकारी दिनुभयो । स्थानीय अम्बिका ओझाका अनुसार उनीहरुको शव खोल्सा भरि छरिएर रहेको अवस्थामा भेटिएको छ ।
खाना खाएर सुतेको अवस्थामा छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ७ जनाको परिवारमा ९० बर्षिय बुवामात्रै बाँच्न सफल हुनुभएको स्थानियले बताएका छन् । अहिले घटना स्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पाँचजना मानिस काटेर फरार अभियुक्तको खोजी कार्य भइरहेको छ ।