काठमाडौं । एमसीसीको विरोध नगर्न चेतावनी सहितको विज्ञप्ति प्रकाशित गरेको केही दिन नवित्दै सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेलाई पनि कारवाहीको चेतावनी दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी भाषणका क्रममा कम्युनिष्टको सरकार बने नेपाली जनताले बोल्न त के हाँस्न पनि नपाउने बताएका थिए । केपी ओली नेतृत्वको सरकारले देउवाको आरोपलाई झुटो सावित गरिदिएको थियो । तर अहिले उनै देउवा नेतृत्वको सरकारले जनताको मुख थुन्ने काम शुरु गरेको छ ।
उनकै सहयात्री दल माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्तामाथि कारबाही चेतावनी दिएका छन्भने अन्य विपक्षी दलहरुलाई के गर्लान् भन्ने आशंका पनि उब्जेको छ ।
अर्का सत्ता सहयात्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारतका लागि कन्फटेवल सरकार बनाउने घोषणा यसअघि नै गरेका थिए । दाहालले भने झै देउवा सरकार भारत र अमेरिकाका लागि कन्फटेवल बन्न खोजेको आभाष जनताले गर्न थालेका छन् ।
कांग्रेसकै नेता बालकृष्ण खाँणले सम्हालेको गृहमन्त्रालयले आज एक विज्ञप्ति निकालेर छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस निकाल्ने र पुत्ला जलाउनेमाथि कारबाही चेतावनी दिएको छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ “विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्न गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ, यस्ता उछृंखल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ।”
सरकारले सबै मित्र राष्ट्रसँग सम्बन्ध प्रगाढ बनाउन चाहेको जनाउँदै गृहको विज्ञप्तिमा भनिएको छ “नेपाल सरकार सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ। नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ, मित्र राष्ट्रहरुको स्वाभिमान र सम्मान आँच आउने कुनै क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ ।”
सरकारले मित्र राष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गर्दै आएको र भविष्यमा पनि उत्पन्न हुने समस्यालाई वार्ता, संवाद र कुटनीतिक माध्यमबाटै समाधान गरिने गृहको दावी छ ।
गृह मन्त्रालयले मित्र राष्ट्रहरूसँग लक्षित हुने गतिविधि नियन्त्रण गर्ने प्रतिवद्धता जनाउँदै भनेको छ “मित्रराष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई सरकारले नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।”
नेपाली नागरिक जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय सुुरक्षाकर्मीले तुइन फुस्काइदिँदा नदीमा वेपत्ता छन् । प्रत्यक्षदर्शीहरुले एसएसवीले तुइन फुस्काउँदा धामी नदीमा झरेको बताए पनि सरकारले त्यसको ढाकछोप गर्ने काम गरेको छ । सरकारले छानविन समितिको प्रतिवेदनमा एसएसवी त्यहाँ भएपनि उनीहरुले फुस्काएको बारे यकिन नभएको लेख्न लगाएर भारतका लागि यो सरकार कन्फटेवल छ भन्ने सन्देश दिएको आरोप लागिरहेको छ ।
त्यस्तै शुक्रबार नै अमेरिकी परियोजना एमसीसीविरुद्ध अमेरिकी दूतावास अगाडि विरोध भएको थियो । त्यही बेलुका गृहमन्त्रालयले विज्ञप्ति निकालेर विदेशी सहयोगका परियोजना र छिमेकीविरुद्ध प्रदर्शन गर्नेमाथि निगरानी भइरहेको जनाउँदै कारबाही चेतावनी दिएको थियो । सरकारले मुख थुन्न खोज्दैमा चुप नहुने र राष्ट्रघात र विदेशी हस्तक्षेप टुलुटुलु हेरेर नबस्ने चेतावनी राजनीतिक दलका नेतादेखि वुद्धिजीवीदेखि सर्वसाधारणले समेत सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् ।