काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा पहिरो गएको छ । नेप्से सुरु भएको दुई घण्टामा नै ५ प्रतिशत घटेको छ ।बजार खुलेको दुई घण्टामा नै नेप्से १ सय ४७.३१ अंकले घटेर २ हजार ७ सय ७९.६८ बिन्दुमा झरेको छ ।३२ कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागिसकेको छ । अझै दर्जन बढी कम्पनी आफ्नो सेयर मूल्य नेगेटिभ सर्किट लाग्ने दिशामा देखिएका छन् ।
उपसमूहको सूचकतर्फ विकास बैंकको करिब ९ प्रतिशत, फाइनान्सको साढे ९ प्रतिशत र जल व्दियुतको ८ प्रतिशतभन्दा बढी घटेको छ । शेयर कर्जामा कडाइ गरिएसँगै त्यसको गम्भीर प्रभाव पुँजी बजारमा देखिएको हो ।आइतबार सानिमा लाइफ इन्सुरेन्स र मनकामना लघुवित्तको मात्र सेयर मूल्य बढेको छ। केही साताअघि नेप्सेले ३२ सय विन्दु पार गरेको थियो ।
उता पूँजी बजारमा नकारात्मक प्रभाव पार्ने काम गरेको भन्दै लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् ।
लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पूँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामालाई मुख्य मागका रुपमा राख्दै विभिन्न १५ बुँदे माग राखेको छ ।
समितिले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सिमा हट्नु पर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनु पर्ने, प्रोभिजनिङ्ककाे व्यवस्था परिमार्जन गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।