काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गर्नुभएको छ । शनिबार नेकपा एमालेको काठमाडौं महानगरपालिकास्तरीय कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमसीसीबारे देउवा र प्रचण्डको धारणा के हो भनी प्रश्न गर्नुभयो ।
एमसीसी झुक्याएर पास गर्न खोजिएको भन्दै अध्यक्ष ओलीले यसबारे गठबन्धनका नेताले केही नभनेको भन्दै त्यसो नगर्न चेतावनी दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘यिनै मान्छेहरु हुन् । कांग्रेस र माओवादी भएका बेला एमसीसी गरे, अहिले एमसीसी… बोल्दैनन् । झुक्याएर पास गर्न खोजेका होलान् ।’ उहाँले भन्नुभयो, ‘बोल्दैनन्, के गर्ने हो भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी अहिले के गर्छन् भन्नुपर्दैन ? शेरबहादुर देउवाजीले भन्नुपर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? हिजो साइन गर्नुभएको थियो, के गर्ने एमसीसी ? उहाँहरु चुपचाप ।’
‘चीनसँग कुनै सीमा विवाद छँदै छैन, कसलाई खुशी पार्न चीनसँग सीमा विवाद समाधान गर्न समिति बनाउनुपर्यो’ उहाँले भन्नुभयो ‘मेरो चुनौती छ यो समितिले कुनै ठाउँमा सीमा विवाद देखाओस् ।’
सरकारले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको पनि अध्यक्ष ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीले पार्टी छाडेर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपाललाई लाजशरम पचेको मान्छे भनी टिप्पणी गर्नुभएको छ । उहाँले माधव नेपालले आफूले पूजा गरेको मन्दिरमा अहिले थुकेको टिप्पणी गर्नुभयो ।
‘देशको विकासको अभियान चलाइरहेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने अनि क्रान्तिका कुरा गर्ने ?’ ओलीले भन्नुभयो- ‘मैले यति साह्रो लाजशरम पचेको मान्छे, माधव नेपालजस्तो मान्छे जिन्दगीमा कहीँ पनि देखेको छैन । नेपाल मात्र होइन, दुनियाँको धेरै देशमा पुगेँ, माधव नेपालजस्तो शरम पचेको मान्छे …।’
माधव नेपालले आफू बसेको खाटमा आफैं बञ्चरो हानेको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो । ‘अस्तिसम्म जुन खाटमा बसिराखेका थिए, त्यही खाटमा वञ्चरोले हान्या हान्यैं छन् । अस्तिसम्म जुन पिर्का बसेका थिए, त्यही पिर्का भाँचेको भाच्यै छन् । अस्तिसम्म जुन मन्दिरमा पूजा गरेका थिए, त्यो मन्दिरमा थुक्याथुक्यै छन्’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले माधव नेपालको पार्टीमा अन्तिममा माधव नेपालमात्र बाँकी रहने बताउनुभयो । ‘माधव नेपालको पार्टीमा अन्तिममा पनि माधव नेपाल नै हुने हो’ उहाँले बताउनुभयो ‘त्यो एकीकृत नै रहन्छ । माधव नेपाल एकीकृत नै रहन्छ ।’
अध्यक्ष ओलीले प्रधानमन्त्री हुन माधवकुमार नेपालले राजालाई दाम चढाएको बताउनुभयो ।
‘सुन्दा पनि बेइज्जत हुने, कहिले सामन्ती राजाको वरिपरि परिक्रमा गरेर पाउमा लगेर दाम चढाएर ढोगेर । …प्रधानमन्त्री हुन पाइन्छ कि भनेर वरिपरि परिक्रमा गरेर दाम चढाएर पनि ढोगेको छ’ उहाँले भन्नुभयो, ‘कहिले हुलाकबाट निवेदन पठाएजस्तो पत्र मञ्जुषामा प्रधानमन्त्री हुन पाउँ भन्ने निवेदन पनि हालेको छ ।’
माधव नेपालले दक्षिणा प्राप्त हुने लोभमा एउटा वुद्धिष्ट संगठनको अध्यक्ष पनि भएको उहाँले बताउनुभयो ।
त्यस्तै नेता नेपालले २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेलाई ३३ सिटमा सीमित गरेको र मुख देखाउन नसक्ने स्थिति भयो भनेर राजीनामा गरेको पनि ओलीले टिप्पणी गर्नुभयो । अहिले एमाले छाड्नेहरुले कुनै मतभेद भएर नभई पदका लागि पार्टी छाडेको उहाँले बताउनुभयो ।
‘पार्टीमा हुँदा के वैचारिक मतभेद राख्न सके ? केही पनि वैचारिक मतभेद छैन, कुनै अरु विषय नीतिका विषयमा मतभेद छ ? खाली स्वार्थको लडाई, मलाई यो पुगेन, त्यो पुगेन’ उहाँले भन्नुभयो ।