काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न आमकार्यकर्ताहरुलाई अपील गर्नुभएको छ । उहाँले कांग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना समेत गर्नुभयो ।
१४ औं महाधिवेशन अन्तर्गत आजबाट सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश दिंदै नेता सिंहले भन्नुभएको छ, ‘कांग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गर्दछु । त्यसतर्फ तल्ला तहबाटै प्रयत्नहरू अघि बढाउन पनि म देशभरका साथीहरूसँग अपील गर्दछु ।’
विधिसम्मत र स्वस्थ्य प्रतिस्पर्धाबाट क्षमतावान नेतृत्व चयन गर्न वडा अधिवेशन सफल होस् भनी उहाँले शुभकामना दिनुभयो । वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्ने भएकाले लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न उहाँले आमकार्यकर्तालाई आग्रह गर्नुभयो ।
संविधानको रक्षा, संघीयता, समावेशिता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउन सक्ने र देशलाई समृद्धिको बाटोमा लैजाने दृष्टिकोणसहितको नेतृत्व देशको आवश्यकता भएको उहाँले बताउनुभयो ।
त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीमा संस्थागत हुँदै गएको गुट र विभाजनको संस्कार हटाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले कांग्रेसभित्रको गुटगत राजनीतिले पार्टी कमजोर भएको र आमनिर्वाचनमा पराजय भोग्नुपरेको स्वीकार गर्दै महाधिवेशनबाट नयाँ संस्कार र पद्धति निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
शुक्रबार महाधिवेशनअन्तर्गत वडा अधिवेशनका दिन एक अपील जारी गर्दै नेता कोइरालाले महाधिवशेनले गुट र गिरोहबाट कांग्रेसलाई बचाउनुपर्ने उल्लेख गर्नुभएको छ ।
‘हामीले विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन सकेनौं । यही कारण आम निर्वाचनमा हामी कम्युनिष्ट भन्दा कमजोर हुन पुगेका हौँ,’ नेता कोइरालाले भन्नुभयो, ‘कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्वरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ । त्यस्तै पार्टी भित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खन हामीसँग समय छैन । उत्सवको रुपमा आएको १४ महाधिवेशनलाई हामी ‘गुट र गिरोह’ समाप्त गर्न सफलिभूत हुनुपर्नेछ ।’
उहाँले महाधिवेशन ‘उत्सव’ का रुपमा आएको उल्लेख गर्दै कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको बताउनुभयो । ‘महाधिवेशन उत्सवको रुपमा मात्र हाम्रो सामु आएको छैन, महाधिवेशनले हामी लोकतन्त्रवादीहरुलाई जिम्मेवार र विवेकपूर्ण रुपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घच्याइरहेको छ,’ नेता कोइरालाले अपीलमा भन्नुभएको छ, ‘महाधिवेशनसँगै नेपाली कांग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको छ । चरणवद्ध रुपमा हुने निर्वाचनहरुमा यस तर्फ साथीहरुले गम्भीरतापूर्वक मनन् गर्नु नै हुनेछ ।’
महाधिवेशनलाई पार्टीमा जित र हार भन्दा माथि राख्न उनले सुझाव दिएका छन् । कांग्रेस पार्टीको क्रियाशील सदस्यको संख्यामा व्यापक वृद्धि भएको उल्लेख गर्दै नेता कोइारालाले पार्टीको संगठनात्मक ढाँचाको विस्तारसंगै आसन्न महाधिवेशन सम्पन्न गर्ने काम पनि चानचुने नरहेको बताउनुभयो ।
कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार आजदेखि सुरु भएको वडा अधिवेशनमा करिव नौ लाख क्रियाशील सदस्य मतदाता रहेका छन् । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।