काठमाडौं । दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा संलग्नमाथि कारबाहीका लागि कुटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सिफारिस गरेको छ ।
सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिले प्रतिवेदन बुझाएपछि गृहले अनुसन्धान गरेर दोषीमाथि कारबाही, परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन कुटनीतिक पहल गर्न सिफारिस गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले छानविन समितिले दिएको सुझावअनुसारका विषयवस्तु समेटेर परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको बताउनुभयो । छानविन समितिले ब्याँस गाउँपालिका–२ का जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटना भारतीय सीमा सशस्त्र बल (एसएसबी) को उपस्थितिमा भएको प्रतिवेदनमा उल्लेख गरेको छ । तर प्रत्यक्षदर्शीहरुले एसएसबीले तुइनको तार फुकालेका कारण धामी बेपत्ता भएको समितिसमक्ष बयान दिएका छन् । यद्यपि गृहमन्त्री बालकृष्ण खाणले संसदमा बोल्दै समितिको प्रतिवेदन नै सरकारको अन्तिम धारणा हुने बताउनुभएको थियो ।
वैदेशिक रोजगारीमा जान घरबाट निस्किएका धामी १५ साउनमा महाकाली नदीमा खसेर बेपत्ता हुनुभएको थियो ।
यता दार्चुला घटनाका बारेमा स्थलगत अध्ययन सकेर नेपालले तयार पारेको प्रतिवेदनलाई भारतले नेपालको आन्तरिक प्रतिवेदन भन्दै त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले यस घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिनुभयो । उहाँले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोपमात्र भएको जिकिर गर्नुभयो ।
यस घटनालाई थामथुम गर्न देउवा सरकारले धामीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ ।

























