काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने प्रतिबद्धता जनाएको छ ।
वडा अधिवेशनको अघिल्लो दिन सभापतिका आकांक्षीहरुले संयुक्त पत्रकार सम्मेलन गरी सभापतिमा एउटै उम्मेदवार अघि सार्ने बताएका हुन् ।
यो समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी छन् । पछिल्ला दिनहरुमा लगातार छलफल भए पनि सहमति जुट्न नसकेपछि नेताहरुले सभापतिमा एउटै उम्मेदवार दिने प्रतिबद्धता जनाएका हुन् ।
कसलाई के जिम्मेवारी दिँदा ठीक हुन्छ भनेर आफूहरुबीच छलफल भइरहेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो । पार्टी कार्यालय, सानेपामा सभापतिका आकांक्षीहरु दायाँबायाँ राखेर पत्रकार सम्मेलन गरेर वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘पार्टी बचाउन एक भएर अगाडि बढ्छौं । सभापतिमा एउटै उम्मेदवार दिन्छौं ।’ सभापतिका लागि छिट्टै उम्मेदवार चयन गर्ने उहाँले बताउनुभयो ।