काठमाडौँ । कांग्रेसको नेतृत्वमा दोहोरिन प्रधानमन्त्री शेरबहादुर देउवा आफैं अघि बढेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापतिमा एक जना मात्र उम्मेदवार अघि बढाउने रणनीतिमा लागेको छ । देउवालाई विभाजित भएर हराउन नसकिने निष्कर्षका साथ संस्थापनइतर पक्षले एकजना मात्रै उम्मेदवार बनाउने रणनीति अघि सारेको हो ।
संस्थापनइतर समूहले दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेर आधिकारिक धारणा सार्वजनिक गर्नेछ । पौडेल समूहमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला सभापतिमा मुख्य आकांक्षी रहनुभएको छ । महाधिवेशनको प्रक्रिया सुरु हुनु एक दिनअघि देशभरका कार्यकर्तालाई सकारात्मक सन्देश दिन सार्वजनिक प्रतिवद्धता जनाउन लागिएको नेताहरूको दाबी छ ।
विरोधी खेमाका नेताहरू एकजुट भएपछि सभापति शेरबहादुर देउवालाई पनि दबाब परेको छ । आफ्नै समूहका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी घोषणा गरेपछि देउवा थप दबाबमा पर्नुभएको छ ।
उम्मेदवार को हुने हो भन्ने चाहि अझै टुंगो लागेको छैन्’, वरिष्ठ नेता पौडेलले भन्नुभयो ‘महाधिवेशनमा एक मात्रै उम्मेदवार हुने भन्ने कुरा हामी सहमतिमै छौ तर अहिले नै म भन्दिनँ।’ काँग्रेसका शिर्ष नेताहरुमा बिमलेन्द्र नीधि, महामन्त्री शेखर कोइराला, प्रकाशमान सिंह लगायतले आगामी महाधिवेशनमा सभापतिमा उठ्ने आकांक्षा व्यक्त गर्दै आउनुभएको छ । त्यसो त युवा नेताहरुले पनि पार्टी सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । हिजोमात्रै नेता कल्याण गुरुङ्गले १४ महाधिवेशनमा सभापति उठ्ने बताउनुभएको छ भने गगन थापाले महामन्त्री उठ्ने घोषणा गरिसक्नुभएको छ ।