काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको सबल नेतृत्व ल्याउन ध्यान दिन कार्यकर्तालाई अपील गर्नुभएको छ । बिहीबार बिहान नेता पौडेलले भिडियो सन्देशमार्फत् यस्तो अपील गर्नुभएको हो ।
नेता पौडेलले महाधिवेशन सफल बनाउन देशभरका सबै नेता कार्यकर्तालाई अपील समेत गर्नुभएको छ । वडा अधिवेशनको अघिल्लो दिन भिडियो सन्देशमार्फत् वरिष्ठ नेता पौडेलले महाधिवेशन कांग्रेसका लागि महायज्ञ भएको उल्लेख गर्दै यसलाई सफल बनाउन आह्वान गर्नुभयो ।
नेता पौडेलले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै महाधिवेशनम वडा तहबाटै सबल नेतृत्वको आवश्यकता रहेको बताउनुभयो । ‘ढिलै भए पनि १८ गतेबाट वडा अधिवेशन सुरु हुँदैछ, नेपालको अहिलेको परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्रलाई साकार पार्न र नेपाली कांग्रेसलाई जनताको भरोसाको केन्द्र बन्ने दिशामा काम गर्नुपर्नेछ ।’ उहाँले भिडियो सन्देशमा भन्नुभएको छ, ‘हाम्रो पार्टीलाई सबल नेतृत्व, चिन्तनशील नेतृत्व र लोकतन्त्रप्रति निष्ठावान नेतृत्वको आवश्यकता छ । सर्वत्र देशभर नै आवश्यक छ ।’
उहाँले कांग्रेस नेता कार्यकर्तालाई आफ्नो निजी स्वार्थलाई बिर्सेर लोकतन्त्रको संस्थागत र कांग्रेसको सबल नेतृत्व ल्याउन ध्यान आग्रह गर्नुभयो । ‘सम्पूर्ण साथीहरुलाई म यो घडीमा अपील गर्न चाहन्छु कि हामीले आफ्ना सानातिना निजी कुरालाई विर्सेर हाम्रा अगाडि रहेका महान लक्ष्यलाई ध्यानमा राख्दै हामीले गर्दै आएको कठिन संघर्षलाई मूर्त रुप दिन, लोकतन्त्रलाई संस्थागत गर्ने कसरी यो देशको समृद्धि अगाडि बढाउन सकिन्छ, कांग्रेसले कसरी सवल नेतृत्व ल्याउने भन्नेमा चिन्तित हुन र गम्भीर हुन र त्यही अनुसार आफ्नो आत्माको पुकार सुनेर निर्णय गर्न आग्रह गर्दछु,’ नेता पौडेलले भन्नुभएको छ ।
उहाँले कोरोना महामारी, वर्षाको अवस्थाको विषम अवस्थामा महाधिवेशन प्रक्रिया सुरु भएकाले स्वास्थ्य सजगता अपनाउन समेत सबैलाई आग्रह गर्नुभयो ।
कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ ।