काठमाडौं । बिज्ञहरुले विश्वमै कोरोना महमारीले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावका कारण दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने बताएका छन् । साथै उनीहरुले दिगो बिकास लक्ष्य हासिल गर्न योजनाको कार्यान्वयनमा जोड दिएका छन् ।
सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुुशासन समितिले गरेको छलफलमा प्राध्यापक डाक्टर श्याम प्रसाद लोहनीले कोरोनाका कारण विश्वव्यापी अर्थव्यवस्थालाई अस्थिर बनाइरहेको र नेपालमा पनि त्यसको असर परेको बताउनुभयो । महामारी भन्दै पहिले लाखौ मानिसहरुको स्वास्थ्य सुधारमा ठूलो प्रगति भएको भएपनि अहिले स्वास्थ्यमा नै लाखौ खर्च गर्नुपरेको उहाँको भनाई छ ।
दिगो बिकास लक्ष्यमा उल्लेख स्वास्थ्यसम्बन्धी व्यवस्थालाई नै कोरोनाले प्रभाव पारेको लोहनीले बताउनुभयो । कोरोनाका कारण गरिएको बन्दाबन्दीले व्यक्तिको जनजिवनमा नै असर पारिरहेकाले पनि उत्पादनमुलक काममा प्रभाव परेको उहाले बताउनुभयो । उहाँले अब पनि कोरोना निर्मुल हुने कुनै संकेत नदेखिएकाले यसले भविष्यमा पर्ने प्रभावका बारेमा यकिन भन्न नसिकने बताउनुभयो ।
त्यस्तै काठमाडौं विश्वबिद्यालयका प्राध्यापक अच्युत वाग्लले दिगो बिकास लक्ष्य हासिल गर्न बनाइएको अवधारणको कार्यान्वयन अपरिहार्य हुने बताउनुभयो । उहाले अवधारणागत प्रष्टता र त्यहि अनुरुपको लिगो बिकासको दीर्घकालिन मार्गचित्र हुनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै वाग्लले अर्थतन्त्रका मुलभुत समस्याहरुको सम्बोधन गर्नुपर्ने, दीगो बिकास लक्ष्य र संविधानका अनूसुचि अनूरुपको जिम्मेवारी दिनुपर्ने सुझाव पनि समितिलाई दिनुभयो । समितिले महामारी र दिगो बिकास लक्ष्य : राष्ट्रिय आवश्यकता र योजनाको कार्यान्वयनबारे बिज्ञहरुसंग छलफल गरेको हो ।