काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दार्चुलाका जयसिंह धामीको मृत्यु भारतीय एसएसबीले तुइन तार फुस्काइदिएका कारणले भएको दाबी गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै लेख्नुभएको छ, ‘दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाका सम्बन्धमा मैले लगत्तै राष्ट्रिय सभाको बैठकमा बोल्दै स्पष्टसँग भनेको थिएँ: भारतीय एसएसबीले तुइनको तार फुस्काइदिएको कारणले नै यो दुःखद घटना घटेको हो र एसएसबी नै यस निम्ति जिम्मेवार छ।’
श्रेष्ठले भारतले गल्ती स्विकार गर्दै नेपालसँग माफी माग्नुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने र पीडित परिवारलाई परिपुरण गर्नुपर्ने उहाँको माग छ ।
‘अब यस प्रकारका घटना दोहोरिन नदिने प्रतिद्धता ब्यक्त गर्नुपर्छ।नेपाल सरकारले तत्काल वार्ता र कुटनीतिक पहलद्वारा भारतसँग यसको आपत्ति र बिरोध गर्दै उपरोक्त बिषयहरुमा भारतलाई सहमत गराउनुपर्छ,’ उहाँले लेख्नुभएको छ ।
सरकारले बनाएको छानवीन टोलीले यससम्बन्धी प्रतिवेदन बुझाएको भन्दै उहाँले तत्काल सरकारले भारतीय सरकारसँग वार्ता गरी नेपालको राष्ट्रिय स्वाभिमान र नेपालीहरुको न्याय स्थापित गर्न माग गर्नुभयो ।