काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज पनि सुनुवाइ हुन सकेन ।
प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा पेशी तोकिएको थियो । तर हेर्न नमिल्नेमा परेको अदालत प्रशासनले जनाएको छ ।
सर्वोच्च अदालतका एक अधिकारीका अनुसार न्यायाधीश हरिकृष्ण कार्कीले विगतमा कानुन व्यवसायी हुँदा यो मुद्दामा बहस गर्नुभएको थियो । त्यसैले कार्कीको स्वार्थ बाझिने भएकाले बुधबारको संवैधानिक इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ ।
यसअघि ३० फागुन २०७६ मा पनि यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा पर्नुभएको थियो । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उहाँकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिनुभएको थियो ।