काठमाडौं । कोराना महामारीका कारण बन्द गरिएका रात्रीकालिन व्यवसायहरु सञ्चालनमा आउनुपर्ने भन्दै ठमेल पर्यटन विकास परिषद्ले काठमाडौं प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् ।
मंगलबार परिषद्को टोलीले कोरोना महामारीका कारण ठमेल क्षेत्रमा ठूलो नोक्सानी पुराएकाले रात्रीकालिन लगाएत अन्य व्यवसायहरु सहज रुपमा सञ्चालन गर्न दिनुपर्ने भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरुले सहज रुपमा व्यवसाय सञ्चालन गर्न नपाउदा घरभाडा तिर्न नसकेको र बैंकको सावा व्याज बुझाउन नपाएको गुनासो गरे । स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गरि होटल, रेष्टुरेन्ट, स्पा लगाएतका व्यवसायहरु पहिलेकै अवस्थामा पूर्ण रुपमा सञ्चालनका लागि अनुमति दिन प्रशासनको ध्यानाकर्षण गरिएको परिषद्का उपाध्यक्ष राजुमान डंगोलले जानकारी दिनुभयो ।
ज्ञापन पत्र बुझ्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले कोरोना महामारीलाई नियन्त्रण र रोकथाम गर्न बाध्य भएर केहि क्षेत्र सञ्चालनमा रोक लगाइएको बताउनुभयो । कोरोना महामारी कम हुँदै गएपछि क्रमश रोक लगाइतका क्षेत्रलाई खुल्ला गरिने र यस बिषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
रात्रीकालिन व्यवसायमा ५० हजार भन्दा बढि मजदुरहरु कार्यरत रहेको र व्यवसाय बन्द हुँदा सञ्चालक तथा मजदुर भोकले ज्यान गुमाउने अवस्था सिर्जना भएको परिषदको गुनासो छ ।