काठमाडौँ । बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ दलका शीर्ष नेताहरू सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले सो सहमति गरेको हो ।
नेताहरुका अनुसार कांग्रेसले ७, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जसपाले ४–४ वटा मन्त्रालय लिने प्रस्ताव छ । मन्त्रालय तलमाथि पर्न सक्ने नेताहरूले बताएका छन् । दलहरूले महत्वपूर्ण मानिएको मन्त्रालय दाबी गरेका छन् ।
दल विभाजनसम्बन्धि अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद विस्तार गर्दा सहज हुने मत पनि गठबन्धनमा छ । अध्यादेशअनुसार एमाले र जसपाका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न पाउँछन् । त्यसपछि अध्यादेश फिर्ता लिने र मन्त्रिपरिषद विस्तार गर्दा सहज हुने तर्क नेकपा एकीकृत समाजवादी र जसपाको रहेको छ । उपप्रधानमन्त्री राख्ने कि नराख्ने भन्नेमा पनि गठबन्धनमा सहमति भइसकेको छैन ।
त्यसैगरी गठबन्धनले चालु आर्थिक वर्षको बजेट सच्याउने भएको बताइएको छ । बैठकले यसअघिको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सच्चाउने निर्णय गरेको हो ।
आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।