काठमाडौं । विभाजित नेकपा एमाले र जनता समाजवादी पार्टीका जनप्रतिनिधिहरुले भदौ २२ गतेसम्म दल रोज्न पाउने भएका छन् । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको हो ।
देउवा सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु-याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी र जसपाबाट फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् । दुवै दलले ९ भदौमा मान्यता पाएका थिए ।
अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था समेत छ । आयोगको आइतबार बसेको बैठकले २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो ।
अब एमालेबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न चाहेमा २२ गतेभित्र सनाखत गर्नुपर्ने भएको छ ।
यस्तै जसपाबाट प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले लोसपा प्रवेश गर्न चाहेमा पनि सनाखत गर्नुपर्नेछ । प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्नेछ । यसका लागि सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा-स्थानीय तहबाट जारी भएको परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने बताइएको छ ।